विमानस्थलबाट भित्रियो साढे ५ अर्ब रुपैयाँको सुन

काठमाडौँ , २० मंसिर । एक साताको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७२.७ किलोग्राम सुन भित्रिएको छ ।

मंसिर १३ गतेदेखि १९ गतेसम्मको अवधिमा विदेशबाट उक्त परिमाणको काँचो सुनको बाला भित्रिएको हो । विदेशबाट नेपाल फर्कने १५ सय ३० जना नेपालीले आफ्नो साथमा उक्त सुन ल्याएका थिए । विदेशबाट नेपाल फर्कने क्रममा सुनका तयारी गहनाको रुपमा व्याख्या गर्दै ल्याउने गरेको पाइएपछि सरकारले विमानस्थल भन्सारमा कडाइ गरेको थियो ।

विमानस्थलमा चेकजाँच कडाइ गरेपछि सात दिनको अवधिमा ७२ किलो सुन भित्रिएको पाइएको हो । १५ सय ३० मध्ये १३ सय ४१ जनाले सुनको भन्सार तिरेका छन् । भन्सारमार्फत ७ करोड रुपैयाँ राजश्व उठ्ने विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले जानकारी दिए ।

तर, नेपाल भित्रिएको ७२ किलो काँचो सुनको बालामध्ये अहिलेसम्म जम्मा ५६ किलो मात्रै सुनको भन्सार संकलन भएको छ । १३ सय ४१ जनाले तिरेको भन्सारमार्फत ५ करोड ४२ लाख रुपैयाँ राजश्व उठेको भट्टराईले जानकारी दिए ।

विदेशबाट नेपाल आउने नेपालीहरुले ५० ग्रामसम्म सुनको तयारी गर–गहना नेपाल ल्याउन पाइने प्रावधानको गलत प्रयोग गर्दै ठूलो मात्रामा काँचो सुन ल्याउने पाइएको छ । ५० ग्रामसम्म सुनका गहना ल्याउँदा नलाग्ने भन्सार महसुललाई गलत व्याख्या गरेर काँचो सुनलाई बाला आकारमा घुमाएर गहना भन्दै नेपाल ल्याउने गरिएको पाइएको हो ।

सात दिनमा नेपाल भित्रिएको ७२ किलो सुनको मूल्य ५ अर्ब ६८ करोड रुपैयाँ हुन आउँछ । प्रतिकिलो सुनमा ८५.७५ तोला हुन्छ । र, ७२ किलो सुनलाई ८५.७५ तोलाले हिसाब गर्दा ६ हजार १७४ तोला हुन आउँछ । आज नेपाली बजारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ तोकेको छ । ६ हजार १७४ तोला सुनलाई ९२ हजारले हिसाब गर्दा ५ अर्ब ६८ करोड रुपैयाँ हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्