एमसीसीविरुद्ध ८ दलको प्रदर्शनमा प्रहरी हस्तक्षेप, सीपी गजुरेलसहित ४२ जना प्रहरी नियन्त्रणमा

नेकपा (मसाल) र नेकपा (क्रान्तिकारी) माओवादीलगायत ८ राजनीतिक दलले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै मंगलबार गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

मंगलबार संसद बैठक बस्ने दिन पारेर ८ दलले संसद भवन घेराउको कार्यक्रम राखेका थिए।
संसद भवनतर्फ अगाडि बढ्न खोज्दा मिन भवन अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको नेकपा (मसाल) बागमतीका प्रवक्ता समिर सिंहले जानकारी दिए।झडपमा परी राष्ट्रिय जनमोर्चाका कार्यकर्ता अमर पौडेल र इन्द्र छन्त्याललगायत घाइते भएका छन्।

यसैबीच (एमसीसी)विरुद्ध नाराबाजी गरेको भन्दै ४२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा नेकपा (क्रान्तिकारी) माओवादीका नेता सीपी गजुरेललगायत रहेका छन्।

संसदमा एमसीसी टेबुल गर्ने उद्देश्यका साथ सरकारले मंगलबारदेखि संसद बैठक आह्वान गरेपछि एमसीसीविरुद्धको आन्दोलन पनि चर्केको छ।

प्रतिक्रिया दिनुहोस्