१ लाख १५ हजार नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

काठमाडौं, पुस ४ । सशस्त्र प्रहरीले सर्लाही सदरमुकाम मलङ्गवाबाट एक लाख १५ हजार नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको सीतामढी थाना सोनवर्षा ग्राम सोनवर्षा वडा नं। ६ चिलरी टोल बस्ने ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र सीतामढी थाना सोनवर्षा ग्राम लालबदी चिलरी वडा नं. १ बस्ने ४८ वर्षीय प्रमोदकुमार नेपाली नक्कली नोटसहित पक्राउ परेका हुन् ।

उनीहरुलाई बीआर ३० वाइ ४१३९ नम्बरको मोटरसाइकलमा भारतको सोनवर्षाबाट सदरमुकाम मलङ्गवातर्फ आउँदै गर्दा शनिबार साँझ ७ः३० बजेतिर मलङ्गवा नगरपालिका–८, गोरखकालीस्थित भन्सार कार्यालय अगाडिबाट नक्कली नोटसहित पक्राउ गरिएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए ।

खनियाँका अनुसार मोटरसाइकलको डिकी र सिटको बीचमा लुकाएर ल्याएको एक हजार दरका ११५ वटा नक्कली नोट बरामद भएको हो । सुरेन्द्र र प्रमोदको साथबाट थप ४७ लाख ५१० सक्कली भारतीय रुपियाँ समेत बरामद भएको छ ।

दुवैलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीका उपरीक्षक खनियाँले बताए । पछिल्लो समय भारतीय सीमावर्ती क्षेत्रमा नक्कली नोटको कारोबारीहरु निकै सक्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्