सर्वोच्च प्रशासनले कानुन व्यवसायीलाई भन्यो : माइकसहित मूलगेटमा नाराबाजी नगर्नू

काठमाडौँ, पुस ६ । सर्वोच्च अदालतमा झन्डै दुई महिनादेखि नाराबाजी सहित गतिरोध जारी रहेको छ । सर्वोच्चको गतिरोध अन्त गर्न सत्ता गठबन्धनले गृहकार्य सुरु गरे पनि सफल भएको छैन ।

न्यायपालिका सुधार आवश्यक रहेको भन्दै सर्वोच्च अदालतका १९ जना न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र नेपाल बारले एक स्वरले राजीनामा माग्दै आएका छन् ।

यसैबीच सर्वोच्च अदालत प्रशासनले आन्दोलनरत कानुन व्यवसायीहरूलाई अदालत परिसरमा नाराबाजी नगर्न भनेको छ । सोमबार सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले फोन गरेर मूलगेटमा नाराबाजी नगर्न अनुरोध गरेको नेपाल बार एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

सर्वोच्च प्रशासनका तर्फबाट आफूहरूलाई नाराबाजी र माइक प्रयोग नगर्न भनिएको श्रेष्ठले बताए । यता सर्वोच्चले भने पनि आफूहरूको आन्दोलन भने निरन्तर जारी रहने उनले बताए ।

साथै उनले आवश्यकताअनुसार आन्दोलनको स्वरूप परिवर्तन हुन सक्ने पनि बताए ।

सर्वोच्च प्रशासनले पहिले पनि प्रहरी प्रशासन लगाएर आन्दोलन दबाउन खोजेको उनको भनाइ रहेको छ । आफुहरुका माग पुरा नभएसम्म आफ्नो आन्दोलन जारी रहने चेतावनी कानुन व्यवसायीहरूले दिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्