सर्वोच्चको सरकारलाई प्रश्न :- ‘चार्ल्स शोभराजलाई किन थुनामुक्त नगर्ने ?, जवाफ दिनू’

काठमाडौं, पुस ८ ।  सर्वोच्च अदालतले ज्यान मुद्दामा बन्दी जीवन बिताइरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त किन नगर्ने भन्दै सरकारलाई प्रश्न सोधेको छ ।

न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले बिहीबार शोभराजको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै थुनामुक्त गर्नु नपर्ने कुनै कारण भए महान्यायाधिवक्ताको कार्यालय मार्फत् तीन दिनभित्र जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ ।

‘सिरियल किलर’ चार्ल्स शोभराजले आफूले अदालतले तोकेको सजाय भोगिसकेको भन्दै थुनामुक्त हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा पुस ७ गते बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए ।

२० वर्षे कैद सजाय भुक्तान गरिरहेका शोभराजले निवेदनमा नेपालको कानुन अनुसार जेष्ठ नागरिकले पाउने सजायको छुट आफ्ना लागि पनि लागू हुनुपर्ने दाबी गरेका छन्। यसअघि पनि यस्तै प्रकृतिका निवेदनमार्फत् शोभराजले थुनामुक्त हुन प्रयास गरेका थिए ।

तर अदालतले उनको माग बमोजिम आदेश जारी गरेको थिएन । फ्रेन्च नागरिक सोभराजमाथि विभिन्न देशमा हत्या तथा अपहरणमा संलग्न भएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्