नेपाली महिला भलिबल टिम आज स्वदेश फर्किंदै

काठमाडौँ , १५ पुस । बंगलादेशको ढाकामा मंगलबार सम्पन्न एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको नेपाली महिला टिम र चौथो भएको पुरुष टिम आज स्वदेश फर्किंदै छन् ।

डिसेम्बर २३ देखि २८ सम्म बंगलादेशमा भएको सेन्ट्रल जोनमा महिला टोलीले फाइनलमा उज्वेकिस्तानलाई ३–२ ले पराजित गर्दै अपराजित रहेर उपाधि जितेको थियो ।

पुरुष टोली भने तेस्रो स्थानको लागि भएको खेलमा उज्वेकिस्तानसँग सोझो सेटमा पराजित हुँदै पदक जित्न असफल रह्यो ।

पुरुष टिमका मुख्य प्रशिक्षक हान अबिङ भने ढाकाबाटै नेदरल्याण्ड्स फर्कनेछन् । उनलाई भलिबल संघका पदाधिकारीले ढाकामा पनि बुधबारै बिदाइ गरिसकेको छ ।

यस्तै स्वदेश फर्केपछि नेपाल भलिबल संघले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा टिमको लागि स्वागत तथा बधाईको कार्यक्रमको पनि आयोजना गर्ने जनाएको छ ।

च्याम्पियन महिला टोलीका खेलाडीलाई नेपाल सरकारले जनही ५ लाख, दुई प्रशिक्षकलाई ३–३ लाख तथा एक अफिसियलाई दुई लाख पुरस्कार प्रदान गर्ने घोषणा समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्