मेसीसहित पीएसजीका चार खेलाडीलाई कोरोना संक्रमण

काठमाडौँ , १९ पुस । पेरिस सेन्ट जर्मेन(पीएसजी)का अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीसहित ४ जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएसँगै मेसीले सोमबार भ्यान्ससँग हुने कप डि फ्रान्सअन्तर्गतको खेल गुमाउने भएका छन् । मेसी क्रिसमस छुट्टीका लागि अर्जेन्टिना गएका हुन् । मेसीसँगै जुआन बर्नाट, सर्जियो रिको र नाथन बिटुमाआलाई पनि संक्रमण पुष्टि भएको पीएसजीले जनाएको छ । सबै जना हेल्थ प्रोटोकलअनुसार आइसोलेसनमा नरहेको क्लबले जनाएको छ ।

गत अगस्टमा पीएसजीमा आबद्ध भएका मेसीले लिग वानमा १ गोल मात्र गरेका छन् भने च्याम्पियन्स लिगमा भने उनले ५ गोल गरिसकेका छन् । गत नोभेम्बरमा उनले सातौँ पटक बालोन डी ओर उपाधि जितेका थिए ।

त्यस्तै गोलीगाँठोमा चोट लागेका नेयमार जनवरी ९ सम्म ब्राजिलमै उपचारमा रहने पनि क्लबले जनाएको छ । अर्को तीन हप्तासम्म नेयमार पीएसजीको अभ्यासमा फर्कने आश गरिएको छ । गत नोभेम्बरमा सेन्ट इतियनविरुद्धको खेलमा नेयमार घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्