म सधैं कप्तान बन्न आएको होइन: ज्ञानेन्द्र मल्ल

काठमाडौं , पुस २० । राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले आफू सधैँभर कप्तान बन्नुपर्छ भन्ने मान्यतामा नरहेको बताएका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चलिरहेको बन्द प्रशिक्षणमा सहभागी भएका उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफू कप्तान हुँदा वा नहुँदा पनि राष्ट्रका लागि खेल्ने बताए ।

नेपाल क्रिकेट संघ (क्यान) संग विवादित विषयमा सहमति भएपछि पूर्वकप्तान ज्ञानेन्द्रसहित ९ खेलाडी मंगलबार बन्द प्रशिक्षणमा उपस्थित भएका हुन् ।ज्ञानेन्द्रले क्यानसँग आफूहरुको विवाद नभएको तर केही विषयमा असन्तुष्टि भने रहेको बताए । मल्लले आफूलाई कप्तानबाट हटाउँदा दुस्ख लागेको तर यसलाई विवादको विषय नबनाउने बताए ।

आफूहरुले धेरै वर्षसम्म कुनै सेवा सुविधाविना खेलेको भन्दै मल्लले अहिले आफ्नो आत्मसम्मानमा चोट पुगेको बताए ।निवर्तमान कप्तान मल्लले आफूहरु प्रशिक्षणमा आइसकेकाले विवादका विषयलाई बाहिर राखेर मिलेर खेल्ने बताए ।

क्यानले सन् २०२२ को पहिलो ६ महिनाका लागि गरेको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएका तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी खेलाडीहरु सोमपाल कामी र कमल सिंह ऐरीलाई क्यानले सेन्ट्र्ल कन्ट्र्याक्टबाट हटाएको थियो ।

त्यस्तै मल्ल र ऐरीको कप्तान र उपकप्तान पद पनि खोसेर सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको थियो ।यही विषयलाई लिएर खेलाडीहरुले आफूहरु ब्याट र बल छाड्नुपर्ने स्थिति आउने बताएका थिए । तर क्यानसँगको सहमतिपछि उनीहरु प्रशिक्षणमा फर्किएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्