ओलीले उद्घाटन गरे एमालेको ६१ जिल्लाको अधिवेशन, सहमतिमा नेतृत्व चयन गर्न आग्रह

काठमाडौं , पुस २३ । नेकपा एमालेको जिल्ला अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उद्घाटन गरेका हुन् ।

एमालेले शुक्रबार एकसाथ जिल्ला अधिवेशन गर्न लागेको हो। एमालेका ६१ जिल्ला अधिवेशन आज हुँदैछ । मौसम र आन्तरिक तयारीका कारण आज अधिवेशन हुन नसकेका १६ जिल्लामा छिट्टै अधिवेशन हुने एमालेले जनाएको छ ।

एमालेले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सर्कूलर जारी गरेको छ । एमालेको विधान अनुसार जिल्ला कमिटी दुई अधिवेशन बीचको अवधिमा आफ्नो कार्यक्षेत्रभित्र पार्टीको मुख्य कार्यकारी संस्था हो । जिल्ला अधिवेशनले अध्यक्ष- १, उपाध्यक्ष- १, सचिव- १, उपसचिव- २ र उपधारा ३ मा उल्लिखित अधिकतम् संख्यामा नबढ्ने गरी सदस्यहरू रहेको जिल्ला कमिटी निर्वाचन गर्नेछ । जिल्ला मातहतका पालिका इलाका कमिटीका अध्यक्षहरू जिल्ला कमिटीका पदेन सदस्य हुनेछन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरेका छन् । शुक्रबार ६१ जिल्ला अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले भने, ‘सकेसम्म समझदारीबाट नेतृत्व चुन्न आग्रह गर्छु । नभए स्वस्थ प्रतिस्पर्धाबाट अगाडि बढ्नुस् ।’

प्रतिक्रिया दिनुहोस्