ओलीको प्रश्न- निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ?

काठमाडौँ पुस २३ ।   नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् ।

काठमाडौंको मुलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले आफू सरकारमा हुँदा अनुसन्धान गर्न नदिएर व्यवधान खडा गरेको भन्दै अहिले देउवा सरकार किन मौन बसेको भन्दै भन्दै प्रश्न गरे ।

‘हामी सरकारमा हुँदा निर्मला निर्मला भनेर अनुसन्धानमा अवरोध गरेका थिए, प्रहरीलाई अनुसन्धानमा व्यवधान गरे’, उनले भने, अहिले कांग्रेसको नेतृत्वको सरकार किन मौन बसेको छ ।’

११ साउन २०७५ मा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मला फेला परेकी थिइन् ।

त्यसैगरि अध्यक्ष ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकूल आउनसक्ने बताएका छन् । तर यो एमालेमाथि गर्न सक्ने प्रहारको अन्तिम किस्ता भएको उनको दाबी छ ।

शुक्रबार देशभरका ६३ जिल्लाको अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले यस्तो बताएकाहुन् ।राष्ट्रियसभाको निर्वाचन यथार्थको जनादेश नहुने उनको भनाइ रहेको थियो ।

चार वर्षअघि विभिन्न पक्षलाई व्यवस्थापन गर्ने नाममा सिट बाँडफाँट गरेको र अहिले त्यसलाई हतियार बनाएर प्रतिगामी गठबन्धन बनेको ओलीले बताए । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्