माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्नेलाई तेस्रो डोज दिइने

काठमाडौं, पुस २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा रहेर काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो)मात्रा खोप दिने निर्णय गरेको छ ।

मन्त्रालयका सचिव डा। रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो हप्ताबाट रोग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्रा खोप लगाउने निर्णय भएको जानकारी दिए ।

कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिन उपलब्ध गराउन लागेको हो । शुक्रबार मात्र २४ जनालाई कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएको थियो । यसअघि गम्भीर प्रकृतिका रोग भएका बिरामी र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अतिरिक्त मात्रा खोप पुस २० गते एक दिन मात्र लगाए र स्थगित गरिएको थियो ।

मन्त्रालयले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप लगाएपछि मात्र अतिरिक्त खोप दिने निर्णय गरेपछि एक दिन लगाएर स्थगित गरेको थियो । मन्त्रालयले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गरेर यही पुस मसान्तभित्रमा लक्षित सबैलाई खोप लगाउने तयारी गरेको छ ।

यस्तै, मन्त्रालयले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको तीन महिना पुगेका अग्रपंक्तिमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यसंस्थामा काम गर्ने कर्मचारी, सरकारी निकायमा काम गर्ने कर्मचारीलाई खोपको अतिरिक्त एक मात्रा लगाइने पनि बताएको छ ।

यस्तै, कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको साथै मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति सक्रिय क्यान्सरका रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामीलाई पनि अतिरिक्त मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ । अहिले सरकारसँग एक करोड दुई लाख मात्रा खोप रहेको छ ।

स्वास्थ्य सचिव डा पोखरेलले सम्भावित तेस्रो लहर रोक्नका लागि सीमानाकामा एन्टिजेन परीक्षण बढाइएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्