माओवादीको महाधिवेशन बन्यो कोरोनाको ‘हटस्पट’, मन्त्रीहरू जोखिममा !

काठमाडौं, पुस २५ ।  नेकपा माओवादी केन्द्रको ११ पुसमा सुरु भएको आठौं महाधिवेशन एक साता चलेर समापन भयो । समापन भएको केही दिनमै माओवादी केन्द्रीय कार्यालयका पदाधिकारीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भयो ।

गत बिहीबार माओवादी केन्द्रीय कार्यालयका २२ जनामध्ये २० जनालाई कोरोना संक्रमण पुष्टि भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आइसोलेसनमा बसे ।

कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोनाभाइर संक्रमण भएपछि प्रचण्डले बिहीबारबाट भेटघाट बन्द गरेका हुन् ।

तर, आइतबारसम्म आइपुग्दा प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, शक्ति बस्नेत, सत्या पहाडी, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटालगायतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अध्यक्ष प्रचण्डसहितका संक्रमित नेताहरुको सम्पर्कमा आएकाहरू जोखिममा परेका छन् ।

देशभरबाट आएका नेता कार्यकर्ताहरू एक साताभन्दा लामो समय चलेको महाधिवेशनमा सहभागी भए । उनीहरू अहिले जिल्लाजिल्ला र गाउँगाउँमा पुगिसकेका छन् ।

महाधिवेशन समाप्त भएलगत्तै नेताहरूमा कोरोना संक्रमण पुष्टि हुनु र सोही महाधिवेशन र केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका नेताहरू जिल्ला फर्किसक्नुले कोरोना संक्रमणको जोखिम बढाएको छ ।

महाधिवेशनबाट फर्किएका माओवादी नेता तथा कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पनि कोरोना संक्रमण भएको छ ।

माओवादीसहित एमाले, कांग्रेस, राप्रपाका पनि राजनीतिक गतिविधि भइरहेका छन् । जनस्वास्थ्यका मापदण्ड नपनाइने भइरहेका राजनीतिक गतिविधिले कोरोना संक्रमण बढाउने सक्ने देखिन्छ ।

सत्ताा साझेदार दल नेकपा माओवादी केन्द्रका शीर्षनेताहरूलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै केन्द्रीय सरकारका मन्त्री पनि जोखिममा परेका छन् ।

हालै आठौँ महाधिवेशन सकेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटा, महेन्द्रबहादुर शाहीलगायत नेताहरूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

महाधिवेशनमा सहभागी पत्रकारहरूमा पनि कोरोना संक्रमण भएको छ । साथै माओवादी कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोनाभाइरस संक्रमण भएको छ ।

माओवादी केन्द्रीय सरकारमा आवद्ध छ । महाधिवेशनमा सहभागी भएका पम्फा भुसा, जनार्दन, देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराज माओवादीबाट मन्त्रिपरिषद्मा छन् । जस कारण सरकारका मन्त्री पनि कोरोना संक्रमणको जोखिममा छन् ।

प्रचण्डसँग भेटेका प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसिसकेका छन् । पछिल्लो महिनायता राजनीतिक दलका महाधिवेशन र गतिविधिले कोरोना संक्रमण जोखिम बढाएको भन्दै चिन्ता जनाउन थालिएको छ । देशभरबाट आएका नेता तथा कार्यकर्ता जनस्वास्थ्यको मापदण्ड पालना नगरी सहभागी गराएर राजनीतिक गतिविधि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्