डेढ महिनामा विमानस्थलबाट १ अर्ब २२ करोडको सुन नियन्त्रण

काठमाडौं , पुस २५ । पछिल्लो समय सुन तस्कर मौलाउदै जान थालेका छन् ।सुरक्षा निकायले देशका विभिन्न स्थानबाट तस्करहरुलाई पक्राउ गर्ने गरेको हो । धेरै जसो त विमानस्थलबाटै पक्राउ पर्ने गर्दछन् ।

यसैबीच करिब डेढ महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा १५५ किलो ४९ ग्राम सुन नियन्त्रण लिइएको छ । मंसिर १३ देखि पुस २४ गतेसम्ममा सो परिमाणमा सुन नियन्त्रणमा लिइएको हो ।

आइतबार अर्थ मन्त्रालय अन्तर्गत उच्च स्तरीय व्यवस्थापन समूहको बैठकमा विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले सो परिमाणको सुन ३ हजार ५२० यात्रुबाट नियन्त्रणमा लिइएको जानकारी गराएका हुन् । उनका अनुसार नियन्त्रणमा लिइएको सुनको प्रचलित बजार मूल्य १ अर्ब २२ करोड रहेको छ ।

नियन्त्रणमा लिइएको सुनमध्ये १५४ किलो ४१५ ग्रामको राजस्व १४ करोड ७० लाख असुली गरिएको छ । नियन्त्रणमा लिइएकामध्ये ३ हजार ४५४ जना यात्रुले राजस्व भुक्तानी गरेर सुन लिएका हुन् ।

पछिल्लो समय सरकारले सुन तस्करीलाई नियन्त्रण गर्न विदेशबाट आउने यात्रुले ५० ग्राम मात्र सुन राजस्व छुटमा ल्याउन पाउने नियम लागू गरेको छ । तस्करले स्वदेश फिर्ता हुन लागेका कामदारलाई भरिया बनाएर सुन पठाउने गरेको समाचार आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्