गौतमबुद्ध रङ्गशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने

काठमाडौं, पुस २५ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने भएको छ । सो कुराको जानकारी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले दिएकी छन् । मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्याङ्कन गरिसकेपछि रङ्गशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी हुन् ।

आज आइतवार भरतपुरमा आफ्नै कार्यालयमा कुरा गर्दै मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड रुपैयाँ ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट पनि सोचेअनुसारको सहयोग प्राप्त नभएकाले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रङ्गशालाका लागि काम अघि बढाउने बताईन् ।

कुराकानीमा मेयर दाहालले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रङ्गशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन सङ्घीय सरकारलाई आग्रह गर्ने बताईन ।

उनले भनीनन् , ‘हामीले प्रक्रिया अघि बढाइसकेका छौँ । हुन त हाम्रो सम्झौताअनुसार महानगरपालिकाले जग्गा उपलब्ध गराउने, त्यो खालको वातावरण निर्माण गरिदिने र स्रोत जुटाएर निर्माण सम्पन्न गर्ने दायित्व धुर्मस सुन्तली फाउण्डेशनको हो । महानगरले जग्गा उपलब्ध गराउने र वातावरण निर्माण गरिदिने भन्ने हो, त्यसका बाबजुद पनि महानगरले स्रोत जुटाउन आर्थिक सहयोग पनि जुटायौँ । राम्रो सहयोग जुटेको हो । आन्तरिक आयबाट पनि बजेट विनियोजन गरेर हस्तान्तरण गरेको हो । लगभग १० करोड रुपैयाँ बजेट महानगरको आन्तरिक बजेटबाट उपलब्ध गराइएको हो ।

महायज्ञ धनधान्याञ्चल आयोजना गरेर पनि सहयोग गरेका हौँ । उहाँहरूले १७ करोड रुपैयाँ ऋण लागिसक्यो, गर्न सक्ने स्थिति भएन भनेपछि ऋण लगाएर गर्ने कुरा भएन । उहाँहरूले हामीले स्रोत जुटाउन सकेनौँ भन्नुभयो, त्यस कारण महानगरपालिकाले स्वामित्व ग्रहण गरिदिनुपर्छ भनेर आग्रह गरेपछि हामीलाई पत्र पनि दिनुभयो र उहाँहरूले फाउण्डेशनको तर्फबाट आर्थिक र प्राविधिक प्रतिवेदन पेस गरेपछि यो बहुवर्षीय योजनाअनुसार अघि बढाउन र ऋण तिर्न पनि सङ्घीय सरकारलाई आग्रह गर्छौँ । सरकारले जिम्मेवारीबाट पन्छिन मिल्दैन, स्वामित्व लिन्छ । सबै सरकारको आपसी र समझदारीबाट यो योजनालाई अघि बढाउँछौँ ।’

 

प्रतिक्रिया दिनुहोस्