नेपालमा पनि बढ्दै कोरोना , आज थपिए ११६७ संक्रमित , २ जनाको मृत्यु

काठमाडौं,पुस २५ । पछिल्लो साता दिनहुँजसो कोरोनाभाइरस संक्रमित बढिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै साढे ११ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३२ जनामा कोरोना परीक्षण हुँदा ११६७ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २२४ जना निको हुँदा २ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन् ।

देशभर अहिले ११३ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ८८४८ पिसिआर र ३७८४ नमुना एन्टीजेन परिक्षण गरि कुल १२६३२ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ७५५ पुगेका छन् । त्यस्तै आइसीयुमा ७० जना छन् भने देशभर १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा ६२८ जना छन् भने होम आइसोलेसनमा ६ हजार १२७ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४५ हजार ४९३ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यता पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६१५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा ४९१ जना, ललितपुरमा ९९ जना र भक्तपुरमा २५ जना गरि कुल ६१५ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्