प्रहरीमा एआईजीका ३ दरबन्दी थप्न गृह मन्त्रालयमा प्रस्ताव पेस

काठमाडौँ , २६ पुस । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ३ वटा दरबन्दी थप्न प्रस्ताव गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले गत साता संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर एआईजीको ३ वटा दरबन्दी थप्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो । सो प्रस्तावलाई गृहले अगाडि बढाएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले जानकारी दिए ।

सो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेमा प्रहरीमा एआईजीको संख्या ८ पुग्नेछ । अहिले प्रहरीमा ५ जना डीआईजी छन् । प्रहरी प्रधान कार्यालयले प्रशासन विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोमा एआईजी राख्न प्रस्ताव गरेको छ । अहिले मानवस्रोत र प्रशासन विभाग एउटै छ । मानवस्रोत र प्रशासनलाई छुट्याएर प्रशासनतर्फ पनि एआईजी राख्न प्रस्ताव गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

दरबन्दी थप भएसँगै बढुवा हुने ३ जना एआईजीहरुले प्रहरी महानिरीक्षकमा विश्वराज पोखरेल र सहकुल थापासँग प्रतिस्पर्धा गर्नेछन् । हालका आईजीपी शैलेश थापा क्षेत्रीले २०७९ वैशाख १९ मा अवकाश पाउनेछन् । उनको अवकाशपछि नियुक्त हुने महानिरीक्षकमा अब बढुवा हुने एआईजीले पनि प्रतिस्पर्धा गर्न सक्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्