पुँजीगत खर्च नौं प्रतिशत मात्र, ६ महिनाभित्र शतप्रतिशत पुर्‍याउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, पुस २७ ।  अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८-०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । आज (मंगलबार) मन्त्रालयमा आर्थिक वर्ष २०७८-०७९ को अहिलेसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई यस्तो आग्रह गरेका हुन् । उनले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको बताए ।

‘आर्थिक वर्षको ६ महिना बितिसक्यो, बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि रातको १२ बजे पनि म तपाईहरूलाई सहयोग गर्न तयार छु ।’ मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्न आग्रह गर्दै बजेट खर्च गर्न आग्रह गरे । उनले ठूला योजनामा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडी बढाउनु पर्नेमा जोड दिए । ठूला योजनाहरूमा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने उनको भनाई छ ।

उनले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता समेत औंल्याए । फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै उनले अब डिजिटल माध्यममा लैजानुपर्ने बताए । ‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई-चार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ’, उनले भने, ‘यसलाई डिजिटल माध्यममा लैजानुपर्‍यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुपर्‍यो । टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ ।’

पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । यसैबीच, सोमबारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९.३९, चालु खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत खर्च भइसकेको छ । समग्रमा हालसम्म २९.११ प्रतिशत बजेट खर्च भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्