उपत्यकामा आजबाट स्मार्ट लकडाउन : के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं, पुस २८ ।  काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने निणर्य गरेको हो ।

उपत्यकामा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको छ । स्मार्ट लकडाउनको आदेश मंगलबार मध्यराति १२ बजेदेखि लागू भएको छ । अब सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनको आदेश छ ।

यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ । सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला पाइने छैन । सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम लागु गरिएको छ । यस्तै माघ १५ सम्म विद्यालय बन्द रहनेछन् ।

पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाहरूको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था गरी सञ्चालन गर्न अनुमति दिइएको छ ।

जिल्ला प्रशासन, मालपोत, नापी, यातायात व्यवस्था, आन्तरिक राजस्व, बैङ्क तथा वित्तीय संस्था आदिमा भीडभाड नहुने उपयुक्त तरिका अपनाएर सेवा प्रवाह गर्न भनिएको छ । कोभिड-१९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सुदृढ गरी पुनः सञ्चालनमा ल्याउन र अक्सिजनको आपूर्ति सहज बनाइने भएको छ ।

सार्वजनिक ठाउँ र गाडीमा मास्क अनिवार्य, भेला-महोत्सवमा रोक

कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौ उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ । काठमाडौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना संक्रमणको जोखिम घटाउन राजनीतिक भेला र मेला महोत्सव गर्न रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको आदेशअनुसार सार्वजनिक गाडीमा चढ्दा मास्क अनिवार्य गरिएको छ । घर बाहिर निस्कँदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूणर् पालना गर्न प्रशासनले आग्रह गरेको छ ।

राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिक तथा अन्य गतिविधि गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पूणर् पालना गर्न तथा सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी कार्यक्रम गर्न रोक लगाइएको छ ।

अत्यावश्यक तथा नियमित कार्यका लागि स्थानीय प्रशासनको अनुमति लिन भनिएको छ । आदेशमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायत सार्वजनिक ठाउँमा जाँदा आउँदो माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड साथमा राखेको हुनुपर्ने उल्लेख छ । माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड लगाएको हुनुपर्ने गरी आदेश जारी भएको छ ।

यस्तै पालिकासँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने गरी कार्यतालिका बनाएर कार्यान्वयन गर्न आह्वान गरिएको छ ।

#लकडाउन

प्रतिक्रिया दिनुहोस्