आज पनि प्रधानन्यायाधीशविरुद्ध कानुन व्यवसायीको विरोध प्रदर्शन , राजीनामा नदिएसम्म जारी रहने चेतावनी

काठमाडौं , पुस २८ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीहरूले आज पनि विरोध प्रदर्शन गरेका छन् ।

बुधबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरूसहित कानून व्यवसायीले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानून व्यवसायीको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि भइरहेको बताए । उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।

अधिवक्ता शर्माले भने , ‘न्यायालयमा देखिएको विकृति, विसंगतिका विरुद्ध हो र न्यायलयमा स्वच्छता र पारदर्शिता हुनुपर्छ भन्ने हो । हाम्रो आन्दोलन भविष्यको अनिश्चितकालसम्म छ । जबसम्म चोलेन्द्र समशेरले राजीनामा दिँदैनन्, तबसम्म यो आन्दोलन जारी रहन्छ । न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुन नेपाल बारले आन्दोलन गरेको छ ।’

त्यस्तै अधिवक्ता रामचन्द्र सिम्खडाले आन्दोलनले देशभरका अदालतमा गोलाप्रथाको सुरुवात गर्न सहयोग गरेको बताए । उनले न्यायपालिका भित्रको विकृति, विसंगति र त्योभित्र रहेका भ्रष्टतन्त्रलाई उन्मुलन गर्नको लागि, निरुत्साहित पार्नको लागि आन्दोलन भइरहेको पनि स्पष्ट पारे ।

‘यो आन्दोलन लगभग साढे २ महिना यता निरन्तर चलिरहेको छ,’ सिम्खडाले भने , ‘न्यायपालिका भित्रको विकृति, विसंगति र त्यो भित्र रहेका भ्रष्टतन्त्रलाई उन्मुलन गर्नको लागि, निरुत्साहीत पार्नको लागि नेपाल बारले आन्दोलन गरिरहेको हो ।’   अधिवक्ता सिम्खडाले न्यायालयभित्र रहेका न्यायाधीशहरूको सम्पत्तिको छानविन गर्नुपर्ने माग उठिरहेको समेत औंल्याए ।

प्रतिक्रिया दिनुहोस्