नेपाल प्रहरीमा तीन एआईजी थप्ने तयारी, यी हुन् दाबेदार

काठमाडौं, पुस २९ ।  नेपाल प्रहरीमा तीन एआईजीको दरबन्दी थप्ने तयारी भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँण सकारात्मक भएपछि एआईजीको दरबन्दी थप्ने तयारी भएको हो ।

यद्यपि, यसको अन्तिम टुंगो भने लागिसकेको छैन । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले दरबन्दी थपको प्रक्रिया अगाडी बढाएको छ । एआईजी र आईजीपी विशिष्ट श्रेणीका पद मानिन्छन् ।

त्यसैले पनि एआईजी हुनका लागि डीआईजीहरू व्यापक दौडधुपमा सक्रिय रहँदै आएका छन् । हाल नेपाल प्रहरीमा पाँच एआइजी छन् । जसमध्ये तीनजना हालकै आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् भने दुईजना जुनियर ब्याचबाट एआईजी बनेका हुन् ।

आईजीपी क्षेत्रीले ०७९ वैशाख १९ मा अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीले पनि अवकाश पाउनेछन् ।

त्यसबाहेक आईजीकै ब्याचीहरू डीआईजी वसन्त पन्त, ईश्वरबाबु कार्की, घनश्याम अर्याललगायत पनि ३० वर्षे सेवाहदका कारण अवकाश पाउनेछन् ।

यस्तोमा जुनियर ब्याचबाट एआईजी बनेका विश्वराज पोखरेल र सहकुल थापामध्ये एकजना भावी आईजीपी हुनेछन् ।

तर, एआईजीको दरबन्दी थपिएमा आईजीपीको खेलमा समेत परिवर्तन हुन सक्ने तर्क कतिपयको छ । प्रहरी अधिकारीहरूका अनुसार एआईजी दरबन्दी थपिने अवस्थामा आईजीपीका ब्याची पर्छन् वा पोखरेल, थापाकै ब्याची पर्छन् त्यो टुंगो छैन ।

गृह स्रोतका अनुसार आईजीपी थापाका ब्याची र पोखरेल, थापाका ब्याचीका जसले पनि एआईजीमा बाजी मार्न सक्छन् ।

पछिल्लो समय एआईजीको दौडमा रहेका डीआईजीहरू प्रधानमन्त्री र गृहमन्त्री रिझाउन सक्रिय रहेको बताइन्छ ।

तर, आईजीपीका ब्याची नपरेमा तीन एआईजी थपिने अवस्थामा डीआईजीहरू धीरजप्रताप सिंह, रवीन्द्र धानुक, उत्तमराज सुवेदी, वसन्त लामा, अरुण बिसी एआईजीको दौडमा हुनेछन् ।

अहिलेको अवस्थामा एआईजी बन्न पाए आफूहरूको आईजीपीको दौड कायमै रहने सिंह, धानुक, सुवेदी, लामाहरूको बुझाइ छ । तर, अहिले एआईजी नभएमा उनीहरू पोखरेल वा थापामध्ये एकजना आईजीपी बनेपछि एआईजी बन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्