लिम्पियाधुरा-लिपुलेकबारे सरकारले सिधै मोदीसँग वार्ता गरोस् : धनराज गुरुङ

काठमाडौं , पुस २९ । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधा वार्ता गरेर सीमा विवाद टुंग्याउन सरकारसँग आग्रह गरेका छन् ।

नेपाल मुस्लिम संघ स्याङजाले आयोजना गरेको स्वागत, बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधनका क्रममा उनले सरकारलाई यस्तो सुझाव दिएका हुन् । गुरुङले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधा वार्ता गरेर विवाद टुंग्याउन सरकारलाई आग्रह गरेका हुन् ।

‘राष्ट्रियताका सन्दर्भमा, राष्ट्रिय स्वाधीनताका सन्दर्भमा हामीले ढिला गर्नु हुँदैन’, उनले भने, ‘छिटोभन्दा छिटो भारतलाई कुटनीतिक नोट पठाएर, कुटनीतिक पहल गरेर सिधा वार्ता गरेर हाम्रो लिम्पियाधुरा, लिपुलेक र कालापानीका सन्दर्भमा भारतीय प्रधानमन्त्री वा शासकहरुले कुरा उठाउन नपाउने गरी वार्ता गरेर यो कुरा टुंग्याउन म आग्रह गर्न चाहन्छु ।

नेपाली कांग्रेस र पाँच दलीय गठबन्धनको सरकारले नेपाली भूमिमा भारतीय सडक निर्माणबारे कुनै प्रतिक्रिया नदिएको सन्दर्भमा उपसभापति गुरुङको सार्वजनिक अभिव्यक्ति आएको हो । डेढ साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेक हुँदै निर्माण भइरहेको सडक अझै फराकिलो बनाएर मानसरोवरसम्म पुर्‍याउने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्