आज एकै दिन ३,५५३ जनामा कोरोना संक्रमण पुष्टि , सक्रिय संक्रमितको संख्या पनि ह्वातै बढ्यो

काठमाडौं , पुस २९ । नेपालमा पछिल्लो २४ घण्टामा ३,५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि १५०८१ जनाको नमुना परीक्षण गर्दा यी संक्रमति देखिएका हुन् ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २,९२२ र एन्टिजेन परिक्षणबाट २७१ जनामा संक्रमण देखिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा थप २७१ संक्रमित कोरोनामुक्त भएका छन् भने थप एक संक्रमितको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ह्वातै बढेको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ । बुधबार ३,०७५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यता पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १९१६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा १४४९ जना, ललितपुरमा ३१७ जना र भक्तपुरमा १५० जना गरि कुल १९१६ जना संक्रमित थपिएका हुन् ।

हाल काठमाडौँ उपत्यकामा कुल ८३९६ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँमा ५८४२ जना, ललितपुरमा १५९१ जना र भक्तपुरमा ९६३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्