हतियारसहित तीन जना पक्राउ, भक्तपुरबाट नगदसहित सात जना जुवाडे समातिए

काठमाडौं, पुस ३० । । सुनसरीमा हातहतियारसहित तीन जना पक्राउ परेका छन् । ईनरुवा नगरपालिका—३ महेन्द्र चोकबाट १ थान पेस्तोल, १ थान म्याग्जिन र ३ राउण्ड गोलीसहित हरिनगर गाउँपालिका-६का २३ वर्षीय फरियाद मियाँ अंसारी लगायत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हातहतियार बोकी मानिस हिँडिरहेका छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उता भक्तपुरको सूर्यविनायक नगरपालिका- ३ बालकोट स्थित महेन्द्र शान्ति चोकबाट प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४४ वर्षीय रामबाबु रानाभाट सहित ७ जना छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेका अनुसार आरोपीहरु रानाभाटको घरमा तास खेलिरहेको अवस्थामा बिहीबार साँझ पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले जुवा खालबाट ८५ हजार ४ सय ५५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्