आजबाट चुच्चे नक्सा अंकित दुई रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा

काठमाडौं , पुस ३० । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि चुच्चे नक्सा अंकित दुई रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याएको छ।

साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको साल २०७७ लेखिएको दुई रुपैयाँको सिक्का चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जानकारी दिएको छ । मुद्रा व्यवस्थापन विभागका अनुसार सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ।

सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेका छन् । माथिल्लो भागमा अङ्ग्रेजीमा ‘आरएस टु’र तल्लो भागमा देवनागरी लिपिमा दुई रुपैयाँ लेखिएको छ ।

नक्साको ठिक माथिपट्टि दायाँतर्फ दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुई वटा थोप्ला रहेको छ । विभागका अनुसार सिक्का पृष्ठ भागमा आठ थोप्लासहितको वृत्ताकार चित्र रही त्यसको भित्र वर्गाकार आकृतिको बाहिरिपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शङ्ख, पद्म र गदाको आकृति रहेको छ । सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको छ।

के-के छन् विशेषता ?

(क) सिक्काको अग्र भागमा :-
१. सिक्काको वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरू रहेको।
२. सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Rs.Two र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ
लेखिएको।
३. सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको ।
४. नेपालको नक्साको ठिक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन)हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुई वटा थोप्ला रहेको।

(ख) सिक्काको पृष्ठ भागमा :
१. सिक्काको वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्ला रहेको।
२. आठ थोप्ला सहितको वृत्ताकार चित्र रही सो भित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य,चक्र, शङ्ग, पद्म, गदाको आकृति रहेको।
३. सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति रहेको र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकी मन्दिर लेखिएको।
४. सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको।

-फाइत तस्बिर

प्रतिक्रिया दिनुहोस्