बालबालिकामाथि अपराध हुनबाट जोगाउन अभिभावकसँग प्रहरीको अनुरोध

 

काठमाडौं, माघ १ । नेपाल प्रहरीले बालबालिकामाथि अपराध हुनबाट जोगाउन सचेत हुन अभिभावकसँग अनुरोध गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पछिल्लो समय बालबालिकामाथि विभिन्न खालका घटना हुने गरेको देखिएकाले त्यसप्रति ध्यानाकर्षण गराउँदै प्रहरीले आ–आफ्ना बालबालिकालाई समयमै सचेत गर्ने कुरामा गम्भीर हुन आग्रह गरेको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रविधिको प्रयोग बढेसँगै त्यसमार्फत जोडिएर अपराधका घटना हुने गरेको बताए । उनका अनुसार हालैमात्र सङ्गम महर्जन नामको नक्कली फेसबुक एकाउन्टबाट एक बालिकालाई साथी बनाइ जबर्जस्ती करणी भएको घटना बाहिर आएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ स्थायी घर भई हाल ललितपुर बस्ने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि महानगरीय प्रहरीवृत्त महाराजगजबाट कानुनी कारवाही थालिएको जनाइएको छ ।

प्रहरीका अनुसार सुरुमा ती व्यक्तिले बालिकालाई बारम्बार भिडियो कल गरी संवेदनशील अङ्ग देखाउन लगाई भिडियो कल रेकर्ड गर्नुका साथै स्कुलमा साथी तथा घर परिवार समेतलाई उक्त भिडियो देखाउँछु र सामाजिक सञ्जालमा भाइरल बनाउँछु भनी धम्की दिएका थिए ।

पुस २७ गते राति काठमाडौंको बूढानीलकण्ठ नजिकै रहेको एक निर्माणाधीन घर पछाडि भेट्न बोलाइ जबर्जस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानका क्रममा उनले यसरी नक्कली फेसबुक एकाउन्ट बनाएको खुलेपछि पक्राउ गरिएको परिसरले जनाएको छ । प्रहरीले यसरी सामाजिक सञ्जालमा नक्कली फेसबुक एकाउन्ट खोली अपराधजन्य कार्य बढ्दो रहेकाले प्रहरीले सचेत हुन अपिल गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्