कोरोना प्रभाव : कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चित

काठमाडौं, माघ ६ । नेपाली कांगेसको १६ जिल्ला कार्यसमितिको अधिवेशन अनिश्चित भएको छ ।

कोरोनाको तेस्रो लहरका कारण जोखिम बढेसँगै माघ १५ गतेका लागि तय भएको १६ जिल्लाको अधिवेशन स्थगित हुने निश्चित छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसबारे औपचारिक निर्णय भने लिएको छैन ।

सरकारले कोभिडको तेस्रो लहर रोकथामका लागि भन्दै लागू गरेको निर्देशिकामा २५ जनाभन्दा बढी सहभागी हुने औपचारिक भेला, समारोहलगायतमा बन्देज लगाएको छ । माघ १५ मा नहुने निश्चित भइसकेको जिल्ला अधिवेशनको नयाँ मिति तोक्न पनि कठिनाइ देखिएको छ ।

कोभिडको तेस्रो लहर समाप्त भएपछिमात्रै नयाँ मिति तोकिने नेताहरूले बताएका छन् । निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीलाई मातृशोक परेका कारण बैठक बस्न ढिलाइ भएको हो । कांग्रेसले १४ औं महाधिवेशन सम्पन्न गरिसकेको छ ।

१६ जिल्लामा भने क्रियाशील सदस्यता लगायतका विवादका कारण अधिवेशनमा ढिलाइ भएको थियो । यसअघि गत पुस २७ गतेका लागि ती जिल्लामा अधिवेशन तोकिएको भए पनि राष्ट्रियसभा निर्वाचनको कारण देखाउँदै माघ १५ गतेका लागि सारिएको थियो ।

कांग्रेसमा सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, नवलपुर, सिन्धुपाल्चोक, रसुवा, कैलाली, बाँके र अछामको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्