राष्ट्रिय प्रसारण लाइनमा जोडियो साढे १० मेगावाट बिजुली

काठमाडौं, माघ ८ । राष्ट्रिय प्रसारण लाइनमा साढे १० मेगावाट बिजुली जोडिएको छ । खोटाङ जिल्लाका तीन लघु जलविद्युत आयोजनाबाट केन्द्रीय प्रसारण लाइनमा उक्त बिजुली जोडिएको छ । जिल्लाको साप्सुखोला जलविद्युत आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाइड्रोपावर गरी कुल १०।६ मेगावाट बिजुली उत्पादन सुरू भएको हो ।

साप्सु खोलाबाट ६.६ मेगावाट, रावा खोलाबाट ३ र मेवा खोलाबाट १ मेगावाट बिजुली उत्पादन सुरू भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । उक्त तीनवटा आयोजनाबाट उत्पादन सुरू भएको बिजुली प्राधिकरणको जलजले–बुइपा ३३ केभी प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।

राष्ट्रिय बाणिज्य बैङ्कको ७० प्रतिशत र प्रवर्द्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत गरी करीब ६० करोड रुपैयाँको लागतमा माथिल्लो रावाखोला जलविद्युतको काम सम्पन्न भएको जनाइएको छ । वि।सं २०६८ सालदेखि उत्पादनको पहल थालिए पनि वि।सं २०७३ सालदेखि मात्र माथिल्लो रावा खोला साना जलविद्युत् आयोजनाको लागि कन्स्ट्रक्सन निर्माणको काम सुरू गरिएको थियो ।

यस्तै, समुदायको ३० प्रतिशत तथा सानिमा बैङ्कको ६० र बैङ्क अफ काठमाडौँको ४० प्रतिशत गरी करीब २२ करोड रुपैयाँको लागतमा उत्पादित मेवा खोला हाइड्रोपावर विसं २०७२ मङ्सिरदेखि निर्माण सुरू भएको थियो । मेवा खोलाबाट उत्पादित विद्युत् जिल्लाका अन्य जलविद्युत् आयोजनाभन्दा पहिले केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।

प्रतिक्रिया दिनुहोस्