पुलिसलाई हराउँदै मनाङ आहा–रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं , माघ ९ । रुपेश केसी र ओलावाले अफिजको गोलमा मनाङ–मर्स्याङ्दी क्लबले आइतबार चिर प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै आहा–रारा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।

मनाङले फाइनल प्रवेशका लागि अब त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । आर्मी र थ्री स्टारले माघ ११ गते खेल्नेछन् । यसअघि, सशस्त्र प्रहरी बल (एपीएफ)ले पनि सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

पोखरा रंगशालामा मनाङले ६५औँ मिनेटमा रुपेश केसीको गोलबाट अग्रता लिएको थियो । रुपेशले अफिज ओलावालेको पासमा गोल गरेका थिए ।

मनाङले ६८औँ मिनेटमा अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो । ओलावालेको प्रहारलाई पुलिसका गोलकिपरले बचाइदिएका थिए । रिबाउन्ड प्राप्त बललाई आलावाले विमल रानालाई पास दिएका थिए । तर, विमलले पनि अवसरको सदुपयोग गर्न सकेनन् ।

खेल सकिन तीन मिनेट बाँकी हुँदा ओलावाले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाएका थिए । ओलावाले विपक्षी दुई रक्षकलाई पन्छाउँदै गोल गरेका गरेका थिए ।

प्रतियोगिताअन्तर्गत सोमबार साविक विजेता संकटा क्लब र मच्छिन्द्र क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्