मेरो जन्म बुद्धको सन्देश फैलाउन भएको होः लामा

बौद्ध गुरु लामा खिल बहादुर थिङको जन्म २०३० सालमा सिन्धुली बस्तीपुर–२ अधेरीखोला मरिनशिरमा भएको हो । उहाँले आफ्नै गाउँको स्कूलमा प्राथमिक शिक्षा हासिल गर्नुभयो, स्वयम्भू स्थित गिता माता माध्यामिक विद्यालयमा अध्ययन पछि बौद्ध धार्मिक ज्ञानको अध्ययनको लागि भारतको देरादुन, दार्जलिङ्ग, बुद्धगया लगायत विभिन्न बौद्ध धार्मिक स्थलहरुमा गई ज्ञान आर्जन गर्नु भयो । नेपालको विभिन्न स्थानहरुमा बौद्ध धर्मको व्यापक पचार/प्रसार लगायत विभिन्न स्थानहरुमा बौद्ध गुम्बा, लामा स्कुल तथा अन्य सामुदायिक भवन निर्माण गर्ने योजना हुनुहुन्छ उहाँ । हाल नेपाल राष्ट्रिय तामाङ घेदुङका लामा संयोजक र माबर साङ्गे छ्योई फेलिङ्ग गुम्बाका अध्यक्ष भाई काम गरिरहनु भएको छ । बौद्ध धर्म, यसका तात्विक अर्थ, बुद्धका अवतारहरु लगायतका विषयमा केन्द्रीत भई उनै बौद्ध गुरु लामा खिल बहादुर थिङसंग जागरण न्यूजकर्मी ध्रुब थापाले गरेको कुराकानीको अंश:

तपाईं लामाको पहिरनमा हुनुहुन्छ, तपाईको संक्षिप्त परिचय ?
मेरो नाम लामा खिल बहादुर थिङ हो । लामा मेरो जन्म जात थर हो । मेरो जन्म सिन्धुली बस्तीपुर–२ अधेरीखोला मरिनशिरको गाँउमा बि.स.२०३० भएको हो । म आफ्नै गाउँको स्कुलबाट प्राथमिक शिक्षा आर्जन गरे त्यसपछि काठमाडौं आएर स्वयम्भू स्थित गिता माता माध्यामिक विद्यालयमा अध्ययन गरे । भारतको बिभिन्न ठाँउहरुमा बुद्धको शान्ति सन्देश र पञ्चशिलको ज्ञान आर्जन गरे पश्चात लामा भिक्षु भएँ, र हाल म नेपाल राष्ट्रिय तामाङ घेदुङको लामा संयोजक र माबर साङ्गे छ्योई फेलिङ्ग गुम्बा अध्यक्ष जस्तो नेतृत्व भूमिकामा गरेको छु ।

लामाको खास अर्थ के हो ?
यसको धार्मिक रुपमा छुट्टै अर्थ छ । “ला” भनेको गुरु हो, गुरुले भगवानको प्रचार /प्रसार गर्ने काम गर्छ । त्यस्तै “मा” को अर्थ मार्ग दर्शन हो । यसले मानव जातीलाई सच्चा, सतमार्ग दर्शन, ज्ञानको बाटो देखाउने र जन चेताना फैलाउनु हो ।

तपाईं लामा बने पश्चात समाजमा के के काम गर्नुभयो ?
विभिन्न गाउँ ठाँउमा गई बुद्धको शान्ति सन्देश र जनचेताना फैलाउने काम गरिरहेको छु । बुद्धको सन्देशलाई प्रचार÷प्रसार गर्ने कार्यमा समर्पित छु । त्यै शान्तिको बाटो र संन्देश प्रचार प्रसारमा लागि पर्दै आईरहेको छु । समाजलाई धर्मबाट परिवर्तन गर्न सकिन्छ । सकारात्मक सोचको विकास गर्न सकिन्छ । सकारात्मक सोच र इच्छाक्ति नभई कुनै काम गर्न सकिंदैन । त्यहि सकारात्मक सोचको विकास गर्न गाँउ गाँउ पुगेको छु । बौद्ध मार्गको सार तत्वका बारेमा सबैलाई सचेतना गराउने काममा व्यस्त छु । विभिन्न स्थानहरुमा गुम्बा निर्माणको लागि आर्थिक स्रोत जुटाउने कार्यमा दिनरात मिहिनत र संघर्ष गरिरहेको छु ।
मानिस अशान्त छ, बिचलित छन् र ज्ञानको अभावमा भौतिक बस्तुबाट शान्ति खोज्छ तर त्यो बस्तु वा धनले सुख दिदैन एक मानिस अर्को मानिसको ज्यान लिन तयार हुन्छ । केहि पैसाको लागि, पैसा पनि पाउछ तर पनि उसलाई सुख हुँदैन । उसलाई चाहिएको चिज अर्कै हो त्यो हो आध्यात्मिक सुख त्यो हामीले बुद्धका शान्ति संन्देशबाट पाउछौं ।

तपाई बुद्धको शान्ति सन्देश फैलाउने क्रममा कहाँ कहाँ पुग्नु भएको छ ?
म बुद्धको शान्ति सन्देश फैलाउने क्रममा नेपालका बिभिन्न जिल्लाहरुमा गएको छु । जस्तै सिन्धुली, मकवानपुर, चितवन, नुवाकोट, धादिङ्ग, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, धनुषा, महोत्तरी, सर्लाही, कपिलबस्तु, दाङ, उदयपुर, सल्यान लगायत विभिन्नमा गएको छु । बिभिन्न कामहरु गरेको छु । त्यस्तै, भारतको बोधगया, महिशुर, हिमाञ्चल लगायत प्रसिद्ध धार्मिक स्थलहरुमा पुगेको छु ।
बुद्धको पञ्चशिलको सन्देशलाई देश विदेशमा गई चेतना फैलाउनु मरो प्रमुख लक्ष्य हो । मेरो लागि सबै समान हो । म घर परिवार सबै त्यागेर हिडेको मानिस हुँ । मेरो अन्तिम लक्ष्य भनेको शान्ति र सकारात्मक सोचका विकास नै हो ।

तपाई बुद्धको शान्ति सन्देश फैलाउन बाहेक सामाजिक कामहरुमा पनि संलग्न हुनुहुन्छ ?
हो, हामी लामाहरुले ज्ञानको प्रचारका साथै सामाजिक कामहरुमा पनि संलग्न हुन्छौ, र म ब्यतिगत रुपमा पनि छु । दिन दुखि, अनाथ बालबालिका, बृद्ध बृद्धाको सहयोगमा रमाउछौं । त्यसको लागि बिभिन्न संघ संस्थाहरुसंग समन्वय गरि सामाजिक कामहरु गरिरहेको छु । त्यस्तै बौद्ध गुम्बा, तामाङ लामा पाठशाला तथा अन्य सामुदायिक हेल्थपोष्टहरु निर्माण गर्ने योजनामा निरन्तर लागिरहेको छु । साथै नेपाल राष्ट्रिय तामाङ घेदुङका लामा संयोजकको भूमिका निर्वाह गरेको छु । यी संघ संस्था मार्फत समाज परिवर्तनको लागि निरन्तर क्रियाशिल छु ।

“संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् ।”

बौद्ध धर्मावलम्वीहरु र अन्य धर्ममा खास अन्तर के छ ?
हरेक धर्मको विधि र प्रक्रिया फरक छ, तर अन्तिम गन्तव्य र सार तत्व एउटै हो । सबै धर्मले असहायलाई सहयोग गर, झुटो नबोल, हत्य हिंसा नगर, सबैको भलो हुने काम गर, गरिब र दुःखीलाई सहयोग गर, विभेद नगर भनेको छ । अर्थ लगाउने तरिका मात्र फरक हो । सार तत्व एउटै हो ।

धर्मको माध्यमबाट समाजमा भएको विकृति विसंगतिलाई कसरी कम गर्न सकिन्छ ?
चार आर्य सत्यका विषयमा भगवान बुद्धले भन्नु भएको छ, “संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् ।” यी भगवान बुद्धका उपदेशबाट के प्रष्ट हुन्छ भने, धर्मले मानिसलाई अनुशासित र नैतिकवान हुन सिकाउँछ । धार्मिक शिक्षाबाट जनचेता फैलाउन सहज र छिटो सकिन्छ । धर्म भन्नासाथ मानिसमा आत्मा देखिनै सेवा र सहयोगको भावना जागेर आउँछ । अनुशासनको मुल जरो नै धर्म हो । धर्ममा सबैको विश्वास अडेको हुन्छ । धर्ममा विकृति र विसंगती भन्ने कुरा हुँदैन । मानिसमा सहिष्णुताको भावना पैदा गराउँछ । सबैमा आत्मैदेखि अनुशासनको पाठ सिर्जना गराउने मुल कुरा नै धर्म भएकाले धर्म माथिको विश्वासले विकृती र विसंगति स्वतः हटेर जान्छ ।

तपाईले संसारमा हजारौं बुद्धहरुको जन्म भएको छ भन्नु भयो, गौतम बुद्ध र अरु बुद्धमा के अन्तर छ ?
संसारमा हजारौं बुद्धहरु को जन्मिएका छन् । तर, शाक्यमुनि बुद्धको जति चर्चा अरुको त्यती भएको पाईदैन । उहाँहरुको पनि त्यो समयमा भएको थियो होला । यहाँ सिद्धार्थ गौतम भन्नाले महाराजा शुद्धोधन र मायादेवीको कोखबाट ई.पु. ५६३ मा नेपालको ऐतिहासिक पुण्यभूमि लुम्बिनिमा जन्मनु भएका बुद्ध हुन् । सिद्धार्थ गौतम २९ वर्षको उमेरमा गृहत्याग गरी आध्यात्मिक मार्गमा त्याग, तपस्या गरी ई.पु. ५३४ मा बोधिज्ञान प्राप्त गरी बौद्धदर्शनको प्रवर्तक बन्नु भएको प्रज्ञावान् व्यक्तित्व भनेर बुझेको छु ।

तपाईको बिचारमा कस्ता ब्यक्तिलाई बुद्ध भनिन्छ ?
अनित्य, अनात्मा, अनिश्वर र प्रतीत्यसमुत्पादका वेत्ता तथा चार आर्य सत्य र आर्य आष्टाङ्गिक मार्गलाई पूर्णरुपले बोध गरी सबै प्राणीहरुप्रति मैत्री र करुणाका निधिपति प्रज्ञावान् ब्यक्तिलाई बुद्ध भनिन्छ ।
गौतम बुद्धलाई तपार्इं सबै प्राणीहरुका मुक्तिदाता हो, भनेर बुभ्mनु हुन्छ ?
गौतम बुद्धको आध्यात्मिक र भौतिकवादी मार्गदर्शन अनुसार चेतनशिल मानवप्राणीहरुले लोभ, ईष्र्या, घमण्ड, मोह र रिस यी पाँच अवगुणहरुलाई त्यागेर आफैंले शुद्ध आचरणद्धारा सबै जीव र प्राणीहरुप्रति मैत्री र करुणाभाव राखी सद्मार्गमा हिड्न सिकाउने, शान्तिको सन्देश विश्वभर फैलाउने गौतम बुद्ध साँचिकै सबै प्राणीका मुक्तिदाता हुन भन्नेमा दुविधा छैन ।

तपाईं गौतम बुद्धको अनुयायी कसरी हुनुभयो ?
म तामाङ्ग समुदायको एक साधारण परिवारमा जन्मेको मानिस हुँ । बौद्ध सम्मेलन तथा विभिन्न गुम्बाहरुमा जाँदा बौद्ध गुरुहरुसंगको संगतले त्यसप्रति प्रभाव बढ्दै गयो । भगवान बुद्धका शन्देश तथा त्रिपिटक अध्ययन गर्न थालें । प्रत्येक मनुष्य आफ्नो मालिक आफै हो । असंख्य कुशलकर्महरु गरेर आफ्नो मुक्तिमार्ग आफैंले बनाउनु पर्दछ भन्ने गौतम बुद्धको साझा सन्देशबाट प्रभावित भएर म उहाँको अनुयानी बनेको हुँ । अनुयायी हुनुमा म आफूलाई गौरव गर्छु ।
प्रकृतिको नियम अनुसार गौतम बुद्धको मार्गदर्शन भाग्यवादी नभई कर्मवादी भएर स्वयम्ले कुशल कर्महरु नगरी कुनै पनि फलहरु प्राप्त गर्न सकिदैन । त्यो नै यथार्थ मार्ग हो । त्यहि कुराबाट म अत्यन्त प्रभावित छु ।

अहिले सम्म बुद्धको कति अवतार छन् ?
स्वयम्भु पुराण अनुसार शाक्यमुनि बुद्धभन्दा अगाडीका बुद्धहरु
१) विपश्वी बुद्ध २) शिखी बुद्ध ३) विश्वम्भु बुद्ध ४) ककुच्छन्द बुद्ध ५) कनकमुनि बुद्ध ६) काश्यप बुद्धहरु पर्दछन् ।
यी ६ बुद्धहरुको भने शाक्यमुनि गौतम बुद्धको जस्तो ऐतिहासिक प्रशस्त प्रमाणहरु भने पाइएको छैन ।
नेपाली भाषाका धर्मग्रन्थ, पाली भाषा, संस्कृत भाषाका धर्मग्रन्थ र तिब्बतीयन धर्मग्रन्थहरुमा संक्षेपमा वर्णन गरिएको मात्र पाईन्छ । ति बुद्धहरु कुन समयकालका थिए भन्ने बारे कालचक्र सुत्रअनुसार एक कल्पभित्र चार युगहरु हुन्छन । जस्तैः सत्ययुग, द्धापरयुग, त्रेतायुग र कलीयुग । त्यस्तै गरि विगतका भद्रकल्पको युगहरु भित्र ति बुद्धहरु थिए भन्ने बुझिन्छ । वर्तमानलाई पनि भद्रकल्प भित्रको कलि युग भनेर मानिन्छ ।
यही भद्रकल्प भित्रको कलीयुग भरीलाई शाक्यमुनि बुद्धको युग हो भनि स्पष्ट हुन्छ । यो भद्रकल्प र कलीयुगको अन्त्य भएपछि मैत्रीय बुद्धको उदय हुने भविष्यवाणी छ । विगत, वर्तमान र भविष्यमा आउने बुद्धहरु गरी जम्म ८ बुद्धहरुका बारेमा यहाँ परिचय प्रस्तुत गरिएको छ ।

अन्तमा तपाई पाठक वर्गलाई केहि भन्नु चाहनुहुन्छ ?
विश्वभर नरहिंसा तथा आतंकवाद फैलिरहेको अवस्थामा बुद्धको शान्ति सन्देशको चेतना विश्वभर फैलियोस् विश्वमा शान्ति र अमन चयन होस्, कसैलाई दुःखकष्ट नहोस् भन्न चाहन्छु ।

“बुद्धम् शरणम् गच्छामि”

“संघम् शरणम् गच्छामि”

“धर्मम् शरणम् गच्छामि”

 

 

प्रतिक्रिया दिनुहोस्