उत्कृष्ट खेलाडीमा किरण र शरद

काठमाडौं । पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट खेलाडीको मनोनयनमा शरद भेषावकर र किरण चेम्जोङ छनौट भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । पुरुषतर्फ राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ, क्रिकेट तर्फ शरद भेषावकर, ब्याड्मिन्टन तर्फ रत्नजीत तामाङ, भलिबल तर्फ मानबहादुर श्रेष्ठ र एथ्लेटिक्सबाट सोमबहादुर कुमाल छनौटका परेका छन् ।

महिलातर्फबाट भने फुटबलकी सावित्री भण्डारी, एथ्लेटिक्सकी कान्छिमाया कोजु र सरस्वती भट्टरार्इ, आर्चरीतर्फ ज्ञानु अवाले, र बाड्मिन्टनकी नङशलादेवी तामाङ उत्कृष्ट खेलाडीको मनोनयनमा परेकी छन् । कान्छिमाया कोजु पिपुल्स च्वाइस अवार्डमा समेत मनोनयन छिन् ।
वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा फुटबलका अनन्त तामाङ, भारत्तोलनकी प्रतिभा माली, जुडोकी मनिता श्रेष्ठ प्रधान र क्रिकेटका दीपेन्द्रसिंह एेरी परेका छन् । एेरी पिपुल्स च्वाइस अवार्डमा समेत मनोनयनमा छन् ।

यस्तै उत्कृष्ट प्रशिक्षकको मनोनयनमा फुटबलका मेघराज केसी, ब्याडमिन्टनका किरण थापा, क्रिकेटका जगत टमाटा, फुटबलका ग्योतोकु कोजी र एथ्लेटिक्सका पुष्पराज ओझा परेका छन् ।

वर्षको उत्कृष्ट पुरूष, महिला र प्रशिक्षकले पुरस्कारस्वरूप पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् । उत्कृष्ठ युवा खेलाडीले ५० हजार पुरस्कार पाउनेछन् ।

१४औं संस्करणको पल्सर स्पोर्टस अवार्ड आगामी भदौ २६ गते प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्