बेल्जियम विश्वकप छनोटमा

(एजेन्सी) – पूर्व यूरोकप विजेता ग्रिसलाई २–१ ले हराउँदै बेल्जियम विश्वकपमा छनोट भएको छ । विश्वकपमा छनोट हुने छैटौं राष्ट्र हुन पुगेको बेल्जियमका लागि जान भर्टोनघेन र रोमेलु लुकाकुले गोल गरेका थिए ।
ग्रिसमाथिको जितसँगै समूह ‘एच’मा २२ अंक बटुल्दै बेल्जियम यूरोप क्षेत्रबाट विश्वकपमा छनोट हुने दोस्रो राष्ट्र बन्यो । यसअघि रुस आयोजकका रुपमा स्वतः छनोट भइसकेको थियो । मेक्सिको, ब्राजिल, इरान र जापान पनि अन्य क्षेत्रबाट विश्वकपमा छनोट भइसकेका छन् ।

त्यस्तै समूह ‘ए’ तर्फ फ्रान्सले लक्जेम्बर्गसँग गोलरहित बराबरी खेलेको छ । यस नतिजाको बावजुद फ्रान्स १७ अंकसहित शीर्ष स्थानमा रहेको छ । समूहको अर्को खेलमा नेदरल्यान्ड्सले बुल्गेरियलाई ३–१ ले हराएको थियो भने स्विडेनले बेलारुसलाई ४–० ले पराजित गरेको थियो ।
नेदरल्यान्ड्स १३ अंक सहित समूहको तेस्रो स्थानमा छ तथा स्विडेन १६ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै यूरोकप विजेता पोर्चुगलले हङ्गेरीलाई १–० ले हराएको छ । खेलमा आन्द्रे सिल्भाको गोलको मद्दतले पोर्चुगलले जित पक्का गरेको हो ।

हरेक समूहको शीर्ष टोली स्वतः विश्वकपमा छनोट हुने हुँदा पोर्चुगलले आफ्नो समूह ‘बि’ मा स्विट्जरल्यान्डलाई पछ्याई रहेको छ । पहिलो स्थानमा रहेको स्विट्जरल्यान्डको २४ अंक रहेको छ भने २१ अंक सहित पोर्चुगल दोस्रो स्थानमा छ । स्विट्जरल्यान्डले गएराति लाट्भियामाथि ३–० को मद्दतले जित पक्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्