पूर्वकप्तान पारस बने नेपाल टेलिकमको ब्रान्ड एमबेस्डर

काठमाडौं , फागुन १४ । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई ब्रान्ड एमबेस्डर चयन गरेको छ । यससम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी खड्काले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले द्रुत गतिमा मुलुकभर दूरसञ्चार सेवा विस्तार गरिरहेको नेपाल टेलिकम र फास्ट बलरका रूपमा परिचित खड्काबीचको सहकार्य फलदायी र प्रभावकारी हुने अपेक्षा व्यक्त गरे ।

सो अवसरमा उनले नेपाल प्रहरीको फुटबल टिमलाई पनि प्रायोजन गरेको स्मरण गर्दै खेल क्षेत्रलाई कम्पनीले विशेष प्राथमिकतामा राखी सहयोग गरिरहेको बताए ।

समारोहमा कम्पनीका नवनियुक्त ब्रान्ड एमबेस्डर खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग आवद्ध हुन पाएकोमा गौरव महसुस गरेको बताए । उनले यो सहकार्यले क्रिकेट खेलका साथै नेपाल टेलिकमद्वारा प्रदत्त सेवा र नेपाल टेलिकमको ब्रान्डको प्रभावकारी प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

हाल एक वर्षको लागि गरिएको सम्झौताअन्तर्गत रहेर क्रिकेट खेलाडी खड्का सम्झौता अवधिभर नेपाल टेलिकमका सेवा सुविधा तथा कम्पनीको ब्रान्ड प्रवद्र्धनका विविध क्रियाकलापमा सहभागी हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्