धादिङका बिरामीलाई नेपाल नेशनल हस्पिटलमा उचार गर्दा भारी छुट

काठमाडौं । ज्यामरुङ जनकल्याण समाज, धादिङ र नेपाल नेशनल हस्पिटलबीच विशेष छुट दिने सम्झौता भएको छ । ज्यामरुङ जनकल्याण समाज, धादिङका अध्यक्ष कृष्णमान श्रेष्ठ, र नेपाल नेशनल हस्पिटल कलंकीका डाइरेक्टर डा. प्रकाश पौड्यालले धादिङ जिल्लाका बिरामीहरुको उपचारमा १५ देखि २० प्रतिशत छुट दिने सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।
बुधबार सांसद खेम प्रसाद लोहनीको उपस्थितिमा हस्पिटलका मेडिकल डाइरेक्टर डा. प्रकाश पौड्याल र ज्यामरुङ्ग जनकल्याण समाज धादिङका अध्यक्ष कृष्णमान श्रेष्ठबिच भएको सम्झौता पश्चात धादिङ जिल्लाको कुनै पनि बिरामीले त्यस अस्पतालमा उपचार गराउँदा १५ देखि २० प्रतिशत छुट पाउनेछन् । त्यसको लागि धादिङ जिल्लाबासी भएको प्रमाण नागरिकता, मतदाता परिचय पत्र, बिबाह दर्ता, जन्म दर्ता लगायत धादिङ जिल्लाबासी भएको कुनै पनि प्रमाण सहितको आवश्यक कागजात ल्याउनु देखाउनु पर्नेछ ।

ज्यामरुङ जनकल्याण समाज धादिङका अध्यक्ष कृष्णमान श्रेष्ठले यो सम्झौताबाट धादिङका बिरामीहरुलाई धेरै राहत हुने बताउनुभयो । अध्यक्ष श्रेष्ठले सामाजिक सेवाका लागि स्थापना भएको समाजले बिरामी, असक्त, दिनदुखिहरुलाई सहयोग गर्दै आएको बताए । आगामी दिनमा पनि यस्ता कार्यलाई प्राथमिकताकासाथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल नेशनल हस्पिटलका डाइरेक्टर डा. प्रकाश पौड्यालले धादिङ जिल्लाका बिरामीहरुको उपचारमा १५ देखि २० प्रतिशत छुट दिने सम्झौता भएको र यसबाट आफु हर्षित भएको बताउनुभयो । यसबाट बिरामीलाई राहत महसुस हुने र हस्पिटलले पनि सेवा गर्ने अवसर प्राप्त हुने बताउनुभयो । नेपाल नेशनल अस्पतालले आधुनिक प्रविधिको प्रयोग गर्दै दक्ष, अनुभवि चिकित्सक तथा नर्सहरुद्वारा न्युन शुल्कमा प्रभावकारी उपचार सेवा दिंदै आएको छ ।

समाजमा विभिन्न कारणबाट पीडित बनेका मानिसको उद्धार एवं विकास निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा केहि राहत गर्न सकिन्छ कि भनि धादिङको ज्यामरुङबाट काठमाडौँमा गई विभिन्न पेशा तथा व्यावसायमा आवद्ध भएका व्यक्तिहरुले सामाजिक कार्यगर्ने उदेश्यले स्थापना गरीएको संस्थाले धादिङमा स्वास्थ्य, शिक्षा तथा विकास निर्माण, खानेपानी क्षेत्रमा काम गर्दै आईरहेको छ । संस्थाको नेतृत्व गरेका जुझारु युवाहरु भएकाले यस समाजिक संस्थाले आगामी दिनहरुमा धेरै काम गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्