लकडाउन पूर्णरूपमा खुलेको कम्तिमा दुई सातापछि मात्रै एसईई हुने

काठमाण्डौ , चैत २२ । कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न सरकारबाट जारी गरिएको लक डाउन पूर्णरूपमा खुलेको कम्तिमा दुई सातापछि मात्रै माध्यमिक शिक्षा परीक्षा एसईर्ई हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले लकडाउन पूर्णरुपमा खुलेर जनजीवन पूर्ववत अवस्थामा फर्केपछि मात्र परीक्षा गरिने जानकारी दिएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण चैत ६ गतेबाट सञ्चालन हुनुपर्ने एसईई परीक्षा हाल स्थगनको अवस्थामा छ ।

बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले विना कुनै शर्त लक डाउन खुलेपछि एसईईको नयाँ परीक्षा तालिकाका बारेमा जानकारी दिइने बताए । विद्यार्थीलाई दुई साताको समय दिएर मात्रै परीक्षा गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्