विप्लवको आशंका -सरकारले कोरोनाका कारण मृत्यु भएकाहरुको सूचना लुकाएको हुनसक्छ (विज्ञप्तिसहित)

काठमाडौं , चैत २२ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले कोरोनाका आशंकामा निजी क्षेत्रबाट चलेका अस्पतालले बिरामीको उपचार गर्न अस्वीकार गरेको र केहीको ज्यान समेत गएकाले सरकारले सूचना प्रणाली विश्वसनीय नदेखिएको बताएका हुन्।

‘कोरोना आशंकामा निजी क्षेत्रबाट चलेका अस्पतालहरुले बिरामीको उपचार गर्न अस्वीकार गरेको र केहीको ज्यान समेत गएकाले सरकारको सूचनाप्रणालीमा विश्वसनीयता देखिएन’, विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘बिरामीहरु कोरोना प्रभावित हुने र कोरोनाकै कारण मरेकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका बढेको देखियो ।’

प्रकोप नेपाल भित्रिने सम्भावना स्पष्ट भइसकेपछि पनि सरकारले आवश्यक स्वास्थ्य उपकरण आयात र उत्पादनमा समयमै पहल नगरेको भन्दै विप्लवले संक्रमणसँगै आवश्यक औजार तथा उपकरण खरिदमा पनि भ्रष्टाचार गर्न खोजिएको बताएका छन् ।

विदेशमा रहेका नागरिकलाई हवाइजहाजबाट स्वदेश ल्याउँदा समेत टिकटबाट आउने रकमा कमिसनखोरी गरिएको विप्लवको दावी छ ।

विप्लवले कोरोना महामारीविरुद्धको संघर्षमा केपी ओली नेतृत्वको सरकार असफल हुनुका साथै जनताको दृष्टिमा भ्रष्ट र बदनाम हुन पुगेको समेत बताएका छन् ।

यस्तो अवस्थामा राज्य संयन्त्रले इमान्दार भएर कोरोना नियन्त्रण र निर्मूल पार्नका लागि विशेष पहलकदमी लिनुपर्नेमा विप्लवले जोड दिएका छन् ।

उनले सरकारले परीक्षणको सुविधा गाउँगाउँसम्म पुर्याउनुपर्ने, कोरोनाबाट बच्ने उपायबारे सर्वसाधारणले बुझ्नेगरी प्रचारप्रसार गर्नुपर्ने, श्रमिक जनताका लागि दैनिक खानपानको व्यवस्था गर्नुपर्ने, विदेशमा रहेर नेपाल फर्कन चाहने नेपालीलाई फिर्ता ल्याउनुपर्ने, व्यक्तिगत सुरक्षा सामग्रीको उचित प्रबन्ध गरिनुपर्ने, सीमामा फसेका नागरिकलाई स्वदेश फिर्ता ल्याएर क्वारेन्टाइनमा राख्नुपर्ने, नेपाल भारत सीमा विदेशीका लागि पूर्णरुपले बन्दगर्नुपर्ने लगायतका १४ बुँदे सुझाव सरकारलाई दिएका छन् ।

यस्तै कोरोना भाइरसविरुद्धको संघर्षमा पार्टीले खेल्ने भूमिकाबारे पनि ६ बुँदामा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्