कांग्रेसले भन्यो -कोरोना परीक्षणमा हेलचक्र्याइँ नगरौं

काठमाडौं, चैत २३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाभाइरस परीक्षणमा हेलचक्र्याइँ नगर्न सरकारलाई आग्रह गरेको छ।परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिएको कांग्रेसले परीक्षण गर्न सरकार कुन साइतको पर्खाइमा छरु भन्ने प्रश्न गरेको छ।

‘अब रत्तिभर हेलचक्र्याइँको अर्थ हुनेछ, समुदायमा संक्रमण फैलन छुट। जसको परिणाम भयावह हुन सक्छ। समयको गम्भीरता अनुरूप सरकारले गति बढाओस्,’ प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

शर्माले सरकारलाई कोरोनामा चीनको सफलताबाट सिक्नुपर्ने सुझाव दिएका छन्।‘चीनको सफलताबाट सिक्ने कि कतिपय देशको झैं भयावह स्थिति प्रतीक्षा गर्ने?,’ उनको प्रश्न छ।कैलालीमा एक स्थानीय महिलामा संक्रमण देखिएको विषयलाई गम्भीरतापूर्वक लिन उनले सरकारलाई आग्रह गरेका छन्।

‘यसअघि संक्रमण देखिएका ६ जना विदेशबाट आएका नेपाली थिए। तर सातौंमा संक्रमण स्थानीयमा देखिनुको अर्थ हो हामी अब गम्भीरताको दोस्रो चरणमा पुगेका छौं,’ उनले भनेका छन्।

उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परीक्षणको दायरा विस्तार गर्ने कार्य सरकारले समयमै गरेको भए खतराको आकार बढेर नजाने पनि उनले बताए।

‘सरकारलाई हाम्रो अपील छ, यसअघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूहको परीक्षण, परीक्षण र परीक्षण, तत्काल, तत्काल र तत्काल गरौं,’ शर्माले भनेका छन्।

भारतलगायत विदेशबाट आएका नेपालीलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्न उनले माग गरेका छन्।

‘सबै खाले ढिलासुस्ती र अकर्मण्यतालाई आहुती दिएर व्यापक सतर्कता, व्यापक परीक्षण र व्यापक उपचार बढाउने क्रममा सरकार युद्धस्तरमा प्रवेश गर्नुपर्छ,’ शर्माले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्