परीक्षा बोर्डले भन्यो -एसईई र कक्षा १२ को परीक्षा सँगै हुनसक्छ

काठमाडौँ , चैत २३ । विश्वभर फैलीउको कोरोनाका कारण एसईई परिक्षा स्थिगीत भएको छ । यसैबीच राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी वैशाखमा हुने कक्षा १२ को परीक्षा सागै गर्न सकिने जनाएको छ । कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ ।

त्यसैगरी बोर्डको निर्धारित तालिकाअनुसार आगामी वैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुनेछ । कक्षा ११ को परीक्षा तालिका वैशाख २१ गतेबाट हुने छ ।

‘एसईई परीक्षा बिहान र कक्षा १२ को परीक्षा दिउँसो संचालन गर्न सकिनेछ,’ बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘यसोगर्दा एउटै परीक्षा केन्द्रमा एकसाथ दुवै परीक्षा सम्पन्न हुनेछ । लकडाउन खुलेपछि तत्कालै परीक्षा प्रक्रिया अघि बढ्छ ।’

यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् ।

त्यसैगरी कक्षा १२ को सबै प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रले छापिसकेको अध्यक्ष पौडेलले बताएका छन् । ‘सुरक्षण प्रेसमा सबै प्रश्नपत्र छापिइसकेका छन् र प्याक भइसक्यो,’ अध्यक्ष पौडेलले भने, ‘लकडाउने खुलेलगत्तै सम्बन्धित परीक्षा केन्द्रमा प्रश्नपत्र पुर्‍याइने छ ।’

कक्षा ११ र १२ का गरी ४ लाख ८० हजारभन्दा बढी परीक्षार्थी रहेका छन् । त्यसनिम्ति १ हजार १ सय परीक्षा केन्द्र तोकिएका छन् ।

विश्वविद्यालयहरूले चैतमा लिन लागेको परीक्षाहरू पनि स्थगित भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्