सीमाबाट आवतजावत गर्नेलाई पाँच हजार जरिवाना

काठमाडौं, चैत २७ । कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गरिएको छ ।

सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बागलुङको ताराखोला गाउँपालिका–४ का वडाध्यक्ष जीतबहादुर खत्रीलगायत स्थानीय जनप्रतिनिधिहरुको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइएमा पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

मङ्गला र ताराखोला गाउँपालिकाले दुई वटै स्थानीय तह जोड्ने देउरालीको सिमाना आवतजावत गर्नेलाई क्वारेन्टाइन र पाँच हजार जरिवाना गर्ने निर्णय गरेको र निर्णय मङ्गलबारदेखि नै कार्यान्वयन गरिएको वडाअध्यक्ष खत्रीले जानकारी दिए ।

बैठकले गोरेटो र मोटरबाटोमा आवतजावत गर्न नदिने, निर्णयको अवज्ञा गरी लुकिछिपी हिँड्नेलाई आफ्नै खर्चमा १४ दिन क्वारेन्टाइनमा बसाउनुका साथै साथै पाँच हजार जरिवाना गरिने मङ्गला गाउँपालिकाका योजना शाखाका सिजन रोकाले बताए ।

बागलुङ तर्फबाट विभिन्न नाकाबाट पैदल यात्रामार्फत म्याग्दी प्रवेश भइरहेको गुनासोपछि अनुगमन र निगरानी थालिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्