कञ्चनपुरको सीमा क्षेत्रमा कडाइ

काठमाडौं, चैत २७ । भारतबाट फर्किएका सुदूरपश्चिमका दुई नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएपछि कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा कडाइ गरिएको छ । १४ चैतमा टनकपुर भएर ब्रह्मदेव नाकाबाट भित्रिएका वेदकोट नगरपालिका– १० चटहरीका ४१ वर्षीय र ११ चैत गौरीफन्टा नाका भएर त्रिनगरबाट नेपाल प्रवेश गरेका कैलाली लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवकमा कोरोना पुष्टि भएपछि कैलाली र कञ्चनपुरका नाकामा थप कडाइ गरिएको हो । भारतसँग जोडिएको कञ्चनपुरको १२९।५ किलोमिटर दूरीको सीमा क्षेत्रमा थप कडाइ गरिएको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले भारतसँगको सीमा क्षेत्रका कञ्चनपुरका पाँच स्थानीय तह भीमदत्त, महाकाली, बेलडाँडी, बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ । यसअघि ब्रह्मदेव, दोधारा, बेलडाँडी, बेलौरी, पुनर्वासको आनन्द बजार र बिचफाँटा बोर्डर आउट पोस्टसहित थप अस्थायी पोस्ट र सशस्त्र प्रहरीले जनशक्ति परिचालन गरेको छ । पाँच दिनअघि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा दुई सय २० थप जनशक्ति परिचालन गरेर कडाइ गरेको सशस्त्र प्रहरी बल ३५ नम्बर गणले जनाएको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति वीरसिंह साहुले सीमा क्षेत्रमा कुनै पनि मानिसको आवतजावत पूर्ण रूपमा बन्द गर्नका लागि थप जनशक्ति परिचालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्