डाक्टरमाथि कुटपिट प्रकरण : महाराजगञ्जका प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइयो

 

काठमाडौँ , बैशाख ४ । त्रि।वि। शिक्षण अस्पताल महराजगञ्जमा कार्यरत डाक्टरहरुमाथि प्रहरीले कुटपिट गरेको विषयमा छानबिन गर्न महानगरीय प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।

बुधबार महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुखसहितको टोलीले शिक्षण अस्पतालमा कार्यरत डाक्टरहरु शम्भु खनाल, तेजप्रकाश साह र विकास शाहमाथि अस्पतालमा खाना खाएर फर्कने क्रममा अभद्र व्यवहार गर्नका साथै डा। खनाललाई कुटपीटसमेत गरेको समाचार प्रकाशित भएको थियो ।

प्रहरीले यसबारे छानबिन गर्न वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा प्रहरी उपरीक्षक मुकेश सिंह र प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटी रहेको छानबिन समिति गठन गरेको छ । साथै, घटनामा संलग्न रहेका महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्ष उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाइ कार्यालयबाट झिकाइएको छ । त्यस्तै, घटनामा संलग्न अन्य प्रहरी कर्मचारीलाई पनि कार्यालयमा झिकाई आवश्यक छानविन कार्य भइरहेको जनाइउको छ ।

यसअघि, कुटपिट गर्ने प्रहरीलाई बिहीबार स्वास्थ्य मन्त्रालयमा बसेको सरोकारवालाहरुको बैठकले दोषीमाथि विभागीय कारबाही गर्ने र लिखितरुपमा माफी माग्ने सहमति भएको थियो । मन्त्रालयमा बैठक बसेर दुवै पक्षबीच प्रहरीलाई कारवाही गर्ने सहमति भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटी, र पिडित चिकित्सक, नेपाल चिकित्सक संघलगायतका प्रतिनिधि बैठकमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्