कोरोनाको असर: पाँचौँ एनभीए राष्ट्रिय भलिबल लिग स्थगित

काठमाडौं, बैशाख ७ । नेपाल भलिबल संघले यही वैशाख अन्तिम साता आयोजना गर्ने भनिएको पाँचौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगन गरेको छ । कोरोना भाइरसको महामारीका कारण उक्त प्रतियोगिता स्थगन गरिएको हो ।

प्रतियोगिताको नयाँ मिति कोरोना भाइरसको महामारीको अवस्था साम्य भएपछि निर्णय गरिने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए । यसअघि सो लिग वैशाख २५ देखि जेठ १ गतेसम्म हुने तय गरिएको थियो ।

‘अहिलेको अवस्थामा कुनै पनि प्रतियोगिता गर्न सकिने अवस्था छैन,’ महासचिव चन्दले भने, ‘पछि संघको बैठकबाट प्रतियोगिताको छिनोफानो गछौँ ।’

पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका ८ पुरुष तथा ६ महिला टोलीले पाँचौं एनभीए राष्ट्रिय भलिबल क्लब लिगमा प्रतिस्पर्धा गर्ने तय भएको थियो । ‘कोरोना भाइरसका कारण संघको खेल तालिका नै परिवर्तन गर्नुपर्ने अवस्था आयो,’ महासचिव चन्दले भने ।

प्रतिक्रिया दिनुहोस्