लकडाउनले मजदुरको विजोगः अलपत्र नागरिकको उद्धार गर्न कांग्रेसको माग

काठमाडौं, बैशाख ७ । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलले काठमाडौं तथा प्रदेश भन्दा बाहिर अलपत्र परेका प्रदेशवासीलाई खानपानको व्यवस्था मिलाउन र घर फर्कने वातावरण बनाउन माग गरेको छ।

संसदीय दलको तर्फबाट सचेतक केदार कार्कीले विज्ञप्ति जारी गर्दै काठमाडौं तथा अन्यत्र गएकाहरूको गाँसबासको व्यवस्था मिलाउन सरकार समक्ष माग गरेका छन्।

अहिले रोगले भन्दा पनि भोकले मर्ने बेला भएकाले नागरिकहरू घर फर्कन खोजिरहेका छन्। संघीय सरकारले ध्यान नदिएकाले प्रदेश सरकारले यसमा ध्यान दिनुपर्ने बताएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘खान नपाएर रुँदै घर फर्किएकाहरूलाई ध्यान दिनुपर्छ की पर्दैनरु’

विज्ञप्तिमा प्रदेश(१ सरकारले सर्वदलीय सुझाव नसुनेको भन्दै राहत वितरण प्रभावकरी बनाउन माग गरिएको छ। उनले स्थानीय तहमार्फत राहत वितरण भइरहे पनि प्रभावकारी हुन नसकेको बताएका छन्।

सचेतक कार्कीले कोरोना संक्रमणविरुद्ध खटिएका स्वास्थयकर्मीहरू न्यूनतम सुरक्षा उपकरणको अभावमा समस्यामा परेकाले तत्काल सुरक्षा उपकरण पुर्‍याउन समेत माग गरेका छन्। उनले विज्ञप्तिमा भनेका छन्, ‘अहिले पनि थर्मल गनसम्म नपुग्दा ज्वरो नाप्न समेत काखी र मुखमा थर्ममिटर राख्नु परेको समाचार आइरहेको छ। जिल्ला स्वास्थ्य कार्यलयमार्फत तत्काल पालिकाहरूमा स्वास्थ्य उपकरण पुर्‍याउन सरकार समक्ष अनुरोध गर्दछु।’

उनले संघीय सरकारले चीनबाट ल्याएर प्रदेश सरकारलाई दिएका स्वास्थ्य सुरक्षाका उपकरणहरू कहाँकहाँ दिइयो र पठाइयो भनेर जानकारी दिनसमेत प्रदेश सरकारसमक्ष माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्