कांग्रेसको ठहर -सरकारले ल्याएको अध्यादेश लोकतन्त्रविरोधी

काठमाडौं, वैशाख ९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले सोमबार ल्याएको अध्यादेश लोकतन्त्रविरोधी भएको ठहर गरेको छ ।

मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सोमबार जारी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो ।अध्यादेशले संविधानको ठाडो उल्लंघन गरेको र लोकतन्त्रको मूल्य, मान्यताविपरीत रहेको कांग्रेसको ठम्याइ छ ।

यसबारे कांग्रेसले बुधबार सरकारबाहिर रहेका दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।यस्तै, बैठकले सम्पूर्ण लोकतन्त्रप्रेमी नागरिकलाई सरकारी निर्णयको प्रतिवादमा उत्रिन आग्रहसमेत गरेको छ ।

मंगलबारको बैठकमा निर्णय फिर्ता नलिए कानुनी बाटोमा जानेबारे पनि छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदारलगायतका नेताहरुको उपस्थिति थियो ।

सरकारले सोमबार राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थालाई संशोधन गर्दै पार्टीको केन्द्रीय कार्यसमिति वा संसदीय दलमा ४० प्रतिशत पुगेमा पार्टी विभाजन गर्न सकिने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितको दुई अध्यादेश ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्