आज अन्तर्राष्ट्रिय श्रमिक दिवसः भिडियो संदेशबाट प्रधानमन्त्रीको शुभकामना !

काठमाण्डौ , बैशाख १९ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवस २०२० को अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले शुभकामना दिदै यस बर्षको मे दिवस कोरोना भाइरसको महामारीका कारण हाम्रो श्रमको संसार अहिले लकडाउनमा रहेको बताएका छन् ।

प्रधानमन्त्रीको संदेश :

स्वदेश तथा विदेशमा रहनुभएका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरु,

मे दिवस २०२० को अवसरमा हार्दिक शुभकामना ।

वितेका १ सय ३१ बर्षदेखि औपचारिक रुपमा, मे १ का दिन, संसारभरिका श्रमिकहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएका छन् । यो दिन, काम गर्नेमाथि काम लगाउनेहरुबाट भएको ज्यादतिलाई अन्त्य गर्न ट्रेड युनियनहरूले शुरु गरेको आन्दोलनको स्मरणमा मनाउन थालिएको हो । श्रमिकहरुको ‘काम, मनोञ्जन र आराम’ बीच सन्तुलन कायम गर्ने माग स्थापित गरिएको दिनका रुपमा यस दिवसलाई स्मरण गर्ने गरिन्छ । नेपालको श्रम आन्दोलनले यस दिवसलाई श्रमिकहरुको ‘सम्मानित, समृद्ध र सिर्जनशील’ जीवनको लागि भएका सबै आन्दोलनहरुको स्मरणमा मनाउँदै आएको छ ।

पछिल्ला केही बर्ष यता, हामीले यस दिवसलाई नेपाली श्रमिकहरुको ‘एकता र उपलब्धि’को उत्सवका रुपमा पनि मनाउँदै अएका छौं । हरेक बर्ष ‘श्रमको संसार’मा भएका उपलब्धिहरुको चर्चा गर्ने र गर्न बाँकी कामहरुलाई पूरा गर्ने अठोट गर्ने दिनका रुपमा पनि मे १ लाई लिंदै आएका छौं ।

तर यस बर्षको मे दिवस हामीहरु भिन्न रुपमा मनाउँदै छौं । कोरोना भाइरसको महामारीका कारण हाम्रो श्रमको संसार अहिले लकडाउनमा छ । मैले पहिले पनि भनेको छु, अहिले यतिबेला विश्वभरिका कोरोना प्रभावित २१० मुलुकमा जस्तै हाम्रो देशको पनि उत्पादन प्रणालीको कडी टुटेको छ । हाम्रा सिर्जनशील हातहरु यतिखेर लकडाउनमा छन् । हाम्रो श्रमको प्रतिक्षामा रहेका उत्पादनका साधनहरु पनि लकडाउनमा छन् ।

अहिलेको लकडाउन विश्वव्यापी हो र यो बाध्यकारी रहेको छ । कोरोना भाइरसका कारणले यसलाई स्वीकार्नु परेको बाध्यता हाम्रा अगाडि छ । यसले निर्माण, रोजगारी र उत्पादनमा पारेको प्रतिकूल प्रभावको अवस्थाले श्रमजीवी वर्गको बुझाईजस्तै श्रम र उत्पादनको सम्बन्ध एवं त्यसको महत्वलाई सबै वर्गले गम्भीरताका साथ बुझ्ने नयाँ परिस्थिति पनि निर्माण भएको छ । श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो । श्रम बिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ भन्ने आजको यथार्थले स्पष्ट पारेको छ ।

उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति म अत्यन्तै दुःखी छु । एक दशकको हिंसात्मक द्वन्द्वका कारण गाउँको रोजगारी खोसिँदा शहररबजार पसेका, तर शहररबजारले रोजगारी दिन नसक्दा परदेश भासिएका लाखौं नेपाली युवा श्रमिकहरु विभिन्न मुलुकमा कार्यरत छन् । युवाहरु विदेशिने यी र अन्य विभिन्न बाध्यकारी परिस्थिति तथा प्रवृत्ति पनि छन् । र, अहिले कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिकहरू परिरहेका छन् । यसबाट सिर्जना भएको पीडाप्रति म जानकार तथा संवेदनशील छु । यस अप्ठ्यारो घडीमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक ऐक्यबद्धता जाहेर गर्दछु ।

प्रतिक्रिया दिनुहोस्