काठमाडौँ उपत्यकासहित देशभर तापक्रम बढ्यो

काठमाडौँ, जेठ ४ । पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै देशभर मौसम सफा भइ घाम लागेकाले काठमाडौँ उपत्यकासहित देशभर तापक्रम वृद्धि भएको छ।

मौसमविद् राजु प्रधानांगका अनुसार शनिबार उपत्यकाको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री र आज ३० दशमलव सात डिग्री सेल्सियस रहेको छ।

अबको केही दिन तापक्रम निरन्तर वृद्धि भइरहने छ,उनले भने।

कुनै मौसमी प्रणाली विकसित भएपछि मात्र तापक्रम घट्ने र तत्काल वर्षा हुने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशको पूर्वी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ। दिउँसो देशको पूर्वी भूभागमा सामान्य बदली र मध्य तथा पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ।

मंगलबार देशको पूर्वी भूभागमा र मध्य तथा पश्चिमी पहाडी भूभागमा मध्याह्नपछि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ३९ दशमलव चार डिग्री सेल्सियस रहेको छ।

त्यस्तै दिपालको ३६ दशमलव पाँच, धनगढीको ३७ दशमलव पाँच, वीरेन्द्रनगरको ३४ दशमलव पाँच, दाङको ३४ दशमलव सात, पोखराको ३१ दशमलव शून्य, सिमराको ३६ दशमलव पाँच र धनकुटाको २५ दशमलव छ डिग्री सेल्सियस अधिकतम तापक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्