बदलीसँगै वर्षाको सम्भावनाः केही स्थानमा चट्याङ र हावाहुरी, सर्तक रहन आग्रह

काठमाडौं , जेठ १० । स्थानीय वायु र पश्चिमी वायुको प्रभावले अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बङ्गलादेशको आसपासमा अवस्थित अंपुन चक्रवात कमजोर भई न्यून चापीय प्रणालीका रुपमा रहेकाले देशभर बदलीसँगै क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन ।

पश्चिमी पहाडी भूभागलगायत मध्य तथा पूर्वी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

दिउँसो देशको पश्चिमी पहाडी भूभागलगायत मध्य तथा पूर्वी भूभागमा सामान्य बदली भई मध्य तथा पूर्वी भूभागका केही स्थान र पश्चिमी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २८ दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।

सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्