१३ औं सागका स्वर्णधारीले पाउने भए मासिक ६ हजार भत्ता

काठमाडौं , जेठ १६ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी खेलाडीले आजीवन भत्ता पाउने भएका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले १३ औं सागका स्वर्ण पदक विजेता खेलाडीलाई आजीवन मासिक छ हजारका दरले भत्ता दिने बताए ।

वर्तमान सरकार गठन भएदेखि नै अपौचारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीहरूलाई पहिलो वर्ष ५ हजार र आर्थिक वर्ष २०७६र७७ मा छ हजारका दरले भत्ता दिँदै आएका मन्त्री सुनारले जानकारी दिए ।

“वर्तमान सरकार गठन भएदेखि नै हामीले अपौचारिक अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता दिँदै आएका थियौं । आर्थिक वर्ष २०७७र७८ को असारबाट लागु हुने गरी थप १३ औं सागमा ५१ स्वर्ण पदक विजेता खेलाडी सहित सबैलाई आजीवन मासिक छ हजारका दरले भत्ता दिने निर्णय गरेका छौं,” मन्त्री सुनारले भने ।

उनीहरूले खेलकुदको क्षेत्रमा राष्ट्रको गरिमा र प्रतिष्ठामा पुर्‍याएको योगदानको कदर गर्दै खेलाडीलाई सम्मान स्वरूप भत्ता दिने निर्णय गरेका बताए । त्यस्तै ओलम्पियन खेलाडीलाई यस आर्थिक वर्षमा पनि जनही चार हजारका दरले मासिक भत्तालाई निरन्तरता दिएको मन्त्री सुनारले जानकारी दिए ।

वर्तमान सरकार गठन भएदेख ओलम्पियन खेलाडीले जनही तीन हजार र दोस्रो वर्ष चार हजारका दरले मासिक भत्ता पाएका थिए । तर, तीन जना ओलम्पियनलाई भने आजीवन मासिक १० हजारका दरले भत्ता दिँदै आएको जानकारी दिए ।

१३ औं सागमा दोहोरो स्वर्ण पदक विजेता र समूह खेलका स्वर्ण विजेता खेलाडीको मासिक भत्ताका विषयमा थप छलफल भइरहेको मन्त्री सुनारले बताए ।

प्रतिक्रिया दिनुहोस्