वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन

काठमाडौं, जेठ १८ । वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरी निधन भएको छ । उनको ८० वर्षको उमेरमा निधन भएको हो ।आइतबार बिहान साढे ११ बजे ललितपुर बागडोलस्थित निवासमा उनको निधन भएको कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले जानकारी दिए ।

उनको आजै पशुपती स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने पनि खड्काले बताए ।

फिल्म ‘जीवन रेखा’ बाट अभिनय सुरुवात गरेका कलाकार ठकुरी प्यारालाइसिसका कारण लामो समय देखि घरमा थलिएका थिए । सुगर, प्रेसर रोगबाट समेत पिडित उनले फिल्मसँगै थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।

‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायतका थुप्रै फिल्ममा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका चन्दले भारतीय फिल्म ‘पञ्चओटी’ तथा पाकिस्तानी एक फिल्ममा समेत अभिनय गरेका थिए । चन्दकी एक छोरी र श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस्