कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने

काठमाडौं , जेठ २० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयक दर्ता गर्ने भएको छ । केन्द्रीय समितिको निर्देशनअनुसार गैरसरकारी विधेयकका रुपमा संविधान संसोधन विधेयक दर्ता गर्न लागेको कांग्रेस सांसद अमरेशकुमार सिंहले बताए ।

संशोधन विधेयक दर्ताका लागि सिंहलगायतका मधेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसदहरु संघीय संसद् सचिवालयमा पुगेको नेता सिंहले बताए ।

नेता सिंहले भने, ‘पहिले कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको विधेयक नै दर्ता गर्न लागेका हौं । केन्द्रीय समितिको निर्देशनअनुसार नै संशोधन विधेयक दर्ता गर्न लागेका हौं ।’

उनका अनुसार कांग्रेस सांसदहरु प्रदीप गिरी, चित्रलेखा यादव, अभिषेकप्रताप शाह, तेजुलाल चौधरी लगाएतहरु संघीय संसद सचिवालयमा पुगिसकेको छन् ।

कांग्रेसले सरकारले संसदमा पेश गरेको संसोधन विधेयकको समर्थन गर्ने निर्णय गरिसकेको छ । सरकारले पिलुलेक, लिम्पियाधुरा र कालापानीसमेतको भू–भाग समेटेर जारी गरेको नक्सालाई संविधानको अनुसुचीमा राख्न संविधान संसोधन विधेयक संसदमा पेश गरिसकेको छ ।

त्यसबाहेक समाजवादी पार्टी र राजपाले सोमबार मात्रै संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्