पर्याप्त स्वास्थ्य सावधानी अपनाएर लकडाउन आफै खुकुलो बनाउने कि ?

काठमाडौं, जेठ २१ । लकडाउन अब सरकारले होइन कि आफैले पर्याप्त स्वास्थ्य सावधानी अपनाएर खुकुलो बनाउन पर्छ जस्तो आभास यति बेला जनताले गर्न थालेका छन् । सरकारले जारी गरेको लकडाउनको आज ७२ दिन पुगेको छ । गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण जनवीवन प्रभावित भएको छ । त्यसैले मानिसहरु लकडाउनको प्रवाह नगरी यति बेला काममा निस्कन थालेका छन् ।

लकडाउन जारी भएपनि अरु दिन भन्दा उपत्यकामा अहिले सवारी चाप निकै बढेको छ ।मानिसहरु लकडाउनको प्रवाह नगरी काममा निस्कदा उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको हो । यस्तै भित्री सडकमा पनि अत्यावश्यक खाद्य सामग्रीका पसलहरु खुलेको देखिन्छ । मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गरिरहेका छन् । यस्तै समाजिक दुरी काय गर्दै, मास्क तथा पन्जा लगाई मानिसहरु बाहिर निस्किएको देखिन्छ ।

लामो समय लकडाउन हुँदा मानिसहरुको आर्थिक जीवन र देशको अर्थतन्त्रमा समेत ठूलो नोक्सानी भएको भन्दै निजी क्षेत्रले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गर्न दवाव दिँदै आएको छ । उपत्यकामा लकडाउन उल्लङ्घन गरी काममा निस्कनेहरुको संख्या बढ्दा मुख्य सडकहरुमा सवारी चाप बढेको देखिन्छ । यस्तै अत्यावश्यक बाहेकका पसलहरु पनि खोल्न पाउनुपर्ने माग राख्दै व्यापारीहरुले नाराबाजी पनि गरिरहेका छन् । मंगलबार काठमाडौँको बौद्ध क्षेत्रका व्यापारीहरुले पनि व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भन्दै विरोध जनाएका थिए । उता कैलालीको धनगढीमा उद्योग वाणिज्य संघले मोडालिटी परिवर्तन नगरे जारी लकडाउनको उलंघन गर्ने चेतावनी दिएको छ।

झण्डै ढाई महिनादेखि लकडाउनको इमान्दारीका साथ पालना गरिरहेका व्यापारीहरु सरकारले एकाएक करका लागि ताकेता गरेपछि आक्रोशित छन् । सरकारले शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गते सम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्